ठेकेदारको लापरबाहीले पुल निर्माण अलपत्र


जाजरकोट, ६ भदौ । तीन वर्षभित्र सबै पुल निर्माणको जिम्मा लिने ठेकेदार कम्पनीको लापरबाहीका कारण छिन्चु–जाजरकोट सडक खण्डमा पर्ने विभिन्न साना तथा ठुला खोलामा पक्की पुल निर्माणको काम अलपत्र परेको छ । स्थानियका अनुसार सडक विस्तार भएसँगै लामो समयदेखि ओझेलमा परेका पुल निर्माणको काम असार नजिकिएसँगै निरन्तरता पाए पनि अहिले अलपत्र अवस्थामा रहेको छ ।

भेरी कोरिडोरअन्तर्गत छिन्चु–जाजरकोट सडकको स्तरोन्नति गर्ने उद्देश्यले मोटरेबल पक्की पुलको निर्माण थालिएको थियो । विसं २०७४ मा सडकखण्डको ७० किलोमिटर भित्रको सुर्खेत जिल्ला क्षेत्रका ६ वटा पुल निर्माणको लागि लामा कन्स्ट्रक्सनले रु २७ करोडमा ठेक्का सम्झौता गरेको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । सम्झौता गरेको ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सनले तीन वर्षको अवधिमा आफ्नो सम्झौताअनुसार पुल निर्माणको कार्य सम्पन्न गरेको छ ।

सुर्खेत जिल्लाभित्र पर्ने सडकखण्डमा लामा कन्स्ट्रक्सनले समयमै काम सम्पन्न गर्दा समेत जाजरकोट खण्डको सडकका पुल कछुवा गतिमा अगाडि बढेका छन् । रसुवा सूर्य कन्स्ट्रक्सन जेबिले ३६ किलोमिटर क्षेत्रभित्र पर्ने सोही सडकको छेडा–खलङ्गा सडकखण्डका ६ वटा पुल बनाउने गरी रु २२ करोडमा ठेक्का लिएको थियो । छेडाचौर–खलङ्गा खण्डमा निर्माणाधीन ६ वटा पुलको काम समयमा हुन नसकेपछि स्थानीय वर्षातको समयमा सास्ती खेप्न बाध्य छन् ।

समयमै ठेकेदारले काम नगर्दा वर्षातको समयमा खोला बढेपछि यातायात सेवा अवरुद्ध हुँदै आएको मध्यपश्चिम यातायात प्रालि जाजरकोटका एरिया इन्चार्ज लोकेन्द्र चन्दले जानकारी दिए । खोर्के खोला आलि नजिकैको पुलले यातायात सञ्चालनमा निकै कठिनाइ भएको उनको भनाइ छ । छेडा चौरदेखि खलङ्गा सम्मका ६ वटा पुल निर्माणमा ठेकेदारको लापरबाहीका कारण यातायातका साधन अवरुद्ध हुँदै आएको चन्दको भनाइ छ ।

निर्माण जिम्मा लिएका ठेकेदार कम्पनीले सुर्खेततर्फका पुल निर्माण कार्य सम्पन्न गरेर जाजरकोट जिल्ला तर्फका पुल असार नजिकिएपछि पेश्की फस्र्यौटको बहाना गर्दै काममा आलटाल गरिरहेको बताइएको छ ।

रसुवा सूर्य कन्स्ट्रक्सन जेभिले जाजरकोटका ६ वटा पुल समयमा काम नगरेर अलपत्र पारेको छ । यो सडकलाई भेरी कोरिडोरको रूपमा विकास गर्ने निर्णय गरेसँगै सरकारले सडक विस्तारका नाममा करोडौँको बजेट खर्च गर्दै आएको छ ।

रसुवा सूर्य कन्स्ट्रक्सन जेभिका सञ्चालक सूर्यबहादुर खड्काले पुलको डिजाइन बिग्रेको कारण ढिलाइ भएको स्वीकार गरेका छन् । ‘दुई वर्षभित्र पुल निर्माणको काम सम्पन्न गर्न सकिन्छ । तर सरकारले गलत डिजाइन दिए म के गरौँ’, उनले भने । चार वटा पुलको डिजाइन स्टेमेट बिग्रेको कारण पुल निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।

उक्त सडकखण्डको छेडाचौर–खलङ्गा सडकखण्डमा रहेका ६ वटा पुलको निर्माण अन्तिम चरणमा गएको ठेकेदार खड्काको भनाइ छ । अहिले वर्षाले काम गर्न नसकिए पनि सामग्री पुगिसकेको उनको भनाइ छ । सरकारले लकडाउन गर्दा भारतबाट आएका कामदार बाहिर गएको कारण काम तत्काल सञ्चालनमा कठिन भएको खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्