विवेश मोते –
बेलबारी, ६ भदौ । अहिले कोरोनाको महामारी र त्रासले गर्दा विश्व नै प्रभावित भइरहेको कुरा सबैलाई अवगत छ । वैज्ञानिकहरूका अनुसार सबै कुराहरू ठप्प भएको कारणले पृथ्वी पहिले भन्दा स्वास्थ्य भइरहेको बताइरहेका छन् । तर कैयौँ मानिसहरू विभिन्न समस्याहरूबाट एकदम ग्रसित भइरहेका छन् ।
दिनहुँ काम गरेर आफ्नो घर गुजारा चलाउने मानिसहरू पुर्णरूपमा प्रभावित भइरहेका छन् । विश्वको आर्थिक वृद्धिदर पनि प्रबल रूपमा झर्ने क्रममा छ । यो सबै अवस्थाको मारमा पर्नेहरूमा कलाकारहरू पनि पर्दछन् ।
म आफू पनि कलाकार भएको कारण म पनि यो अवस्था अनुभव गरिरहेको छु । अझ पुर्णरूपमा कलाकारितालाई अँगालेर र कार्यक्रमको भरमा आफ्नो गुजारा चलाउने कलाकारहरू त झनै प्रभावित भइरहेका छन् ।
सांस्कृतिक कार्यक्रम, कन्सर्ट र बारहरूमा हुने कार्यक्रमहरू पूर्ण रूपमा ठप्प छन् । सबै आआफ्नो घरमा यस कोरोना महामारीको अन्त्यको प्रतीक्षा गर्नु परिरहेको अवस्था छ । हुन तः यस महामारीको कारण आफ्नो घर परिवारसँग समय बिताउन पाइरहेका छन्, यद्यपि उनीहरू आर्थिक र मानसिक रूपबाट प्रभावित चैँ भइरहेकै छन् ।
अझै यस्तो ठुलो कन्सर्ट र कार्यक्रमहरू पहिले झैँ सम्पन्न हुन कम्तीमा पनि एक दुई वर्ष लाग्ने पक्कापक्की नै छ। त्यस कारण अबको आउने एक दुई वर्ष कलाकारहरूको लागि निकै कठिन हुने मज्जाले अनुमान गर्न सकिन्छ ।