विराटनगरको विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन विश्वविद्यालयलाई हस्तान्तरण


विराटनगर, ४ भदौ । विराटनगर १४ को विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ ।

सामाजिक विकास मन्त्रालयमा आज आयोजित कार्यक्रमका बिच क्याम्पसका अध्यक्ष भूराज राईले करिब ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख सुवास श्री पोखरेललाई हस्तान्तरण गर्नुभयो । स्वामित्व ग्रहण गर्दै विश्वविद्यालयका प्रमुख पोखरेलले विराट क्याम्पसको उँचाइलाई कायम राख्ने गरी काम गरिने बताउनुभयो ।

सम्पत्ति र दायित्व हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मन्त्री तथा विश्वविद्यालयका सहकुलपति जीवन घिमिरेले विराट क्याम्पसको भावनामा चोट नपुग्ने गरी विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँले विराट क्याम्पस विश्वविद्यालयको सबैभन्दा ठुलो दाता भएको बताउनुभयो ।

मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न १ देखि डेढ वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीप प्रशिक्षण केन्द्र सुरु गर्ने मन्त्री घिमिरेले बताउनुभयो । सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालय अन्त्रगतका तालिम विराट क्याम्पसको भवनबाट सुरु गर्ने मन्त्री घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्