बेलबारी, २ भदौ । बेलबारी नगरपालिकाले बढी कोरोना भाइरस संक्रमित क्षेत्रलाई शिल गर्ने भएको छ । बेलबारी नगरपालिकाको आज मंगलबार बसेको कोरोना रोकथाम नगर स्तरीय सर्वदलीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।
कोरोना संक्रमण पुष्टि भएकालाई बेलबारीमा आइसोलेसनको व्यवस्थापन गरी राख्ने निर्णय भएको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताएका छन् । सुवेदीका अनुसार बेलबारी वाड नं. २ स्थित बागदेवी सामुदायिक बन उपभोक्ता समूहको भवनलाई आइसोलेसन वार्डको रूपमा विकास गरी सञ्चालन गर्ने निर्णय भएको छ । बेलबारीवासीलाई उच्च सावधानी अपनाउन समेत सुवेदीले आग्रह गरेका छन् ।
बैँक तथा वित्तीय संस्था भोलि देखी पूर्ण रूपमा बन्द हुने नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुलीले जनकारी दिएकी छिन । बढ्दो कोरोना संक्रमणको उच्च जोखिमले गर्दा बैँक तथा वित्तीय संस्था पनि बन्द गर्ने निर्णय भएको उनले बताइन । लकडाउनको पालना गर्न पराजुलीले स्थानीयलाई आग्रह गरेकी छिन । कोरोनाको जोखिम बढ्दै गएमा अझ कडाइ गर्ने उनले बताइन ।
बेलबारी नगरपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहका अनुसार अहिले बढी कोरोना संक्रमण क्षेत्र वाड नं. १ स्थित गाईघाट र वाड नं. २ लालभित्ती शिल गर्ने निर्णय भएको छ ।