कोशी कोभिड १९ उपचार केन्द्रमा संक्रमित लक्षण देखिएकालाई प्राथमिकता दिइने


विराटनगर, १ भदौ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा कोरोनाका लक्षण देखिएका संक्रमितहरुको उपचारलाई प्राथमिकता दिइने भएको छ ।

पछिल्लो समय लक्षण सहितका संक्रमित बढेसँगै कोभिड अस्पतालमा सुविधाहरू विस्तार गर्दै लक्षण भएकाहरूको उपचारमा बढी प्राथमिकता दिइने अस्पताल संयोजक डा. दीपक सिग्देलले बताउनुभयो । उहाँले भन्नुभयो,‘ लक्षण नभएकालाई राख्दै नराख्ने भन्ने होइन, लक्षण भएकालाई बढी प्राथमिकता दिइने छ ।’ कोभिड उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर सहितको सुविधा विस्तार गरिएको उहाँले बताउनुभयो । उपचार केन्द्रमा ५ वटा भेन्टिलेटर र १० वटा आइसियु बेड तयारी अवस्थामा राखिएको डा.सिग्देलले बताउनुभयो ।

आइसियु र भेन्टिलेटर बेडसँगै आवश्यक जनशक्तिलाई तालिमको प्रबन्ध भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । २० जना स्टाफ नर्स र १० जना चिकित्सकलाई प्रदेश स्वास्थ्य तालिम केन्द्रले तालिमको प्रबन्ध गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । सुविधा विस्तारसँगै जनशक्तिको अभाव नहोस् भन्नका लागि तालिमको प्रबन्ध गरेर जनशक्तिलाई तयारी अवस्थामा राखिएको मन्त्री घिमिरेले बताउनुभयो ।

कोभिड १९ उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर सुविधा थपिएसँगै बेड संख्या १ सय पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्