काठमाडौं । आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाएर विदेश पठाइदिने भन्दै सात जनाबाट २४ लाख २५ हजार रुपैयाँ लिएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूले जर्मनी, कुवेत र जापान पठाइदिने आश्वासन दिएर रकम लिएपछि सम्पर्कविहीन भएको पीडितहरूको उजुरी छ ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले मंसिर १० गते सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने २८ वर्षीय विज्ञान इटनी, दैलेखको नारायण नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-२९ बस्ने ३५ वर्षीय पुष्पराज सोनी, काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१२ बस्ने ३३ वर्षीय रोशन गोले र सिन्धुलीको मरिण गाउँपालिका-२ घर भएका ४६ वर्षीय लिला बहादुर गरंजा छन् ।
प्रहरीका अनुसार इटनीले जर्मनी पठाइदिने भन्दै दुई जनाबाट १० लाख ९५ हजार रुपैयाँ लिएको आरोप छ । त्यसैगरी सोनीले कुवेत पठाउने आश्वासनमा एक जनाबाट ५ लाख ३० हजार रुपैयाँ, गोलेले जापान पठाइदिने भन्दै दुई जनाबाट २ लाख ५० हजार रुपैयाँ र गरंजाले जापान पठाउने भन्दै दुई जनाबाट ५ लाख ५० हजार रुपैयाँ लिएको उजुरी परेको थियो ।
चारै जनाले रकम लिएपछि सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले इटनीलाई काठमाडौं महानगरपालिका-१६ बाट मंगलबार पक्राउ गरेको जनाएको छ । सोनीलाई काठमाडौं महानगरपालिका-२९ बाट तथा गोले र गरंजालाई बुढानीलकण्ठ नगरपालिका-१० बाट बुधबार पक्राउ गरिएको हो ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


