नवलपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका-११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बुधवार राति करिब ९ बजे डण्डाबाट सर्दीतर्फ जाँदै गरेको लु.२ च. ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आइरहेको लु.२ त. २४१७ नम्बरको ट्याक्टर बाहुनीकुनामा ठोक्किएका थिए ।
दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका-४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल पुर्याइए पनि राति १०ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका-४ का सात जना र मध्यबिन्दु नगरपालिका-१० का छ जना गरी १३ जना घाइते भएका छन् । घाइतेमध्ये मध्यबिन्दु-१० का १८ वर्षीय अश्विन चौधरी र २० वर्षीय निर्मल चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते अश्विन र निर्मलसहित आठ जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ । रिफर हुने अन्यमा रविन चौधरी, रिजन चौधरी, विशाल राना, श्याम चौधरी, गुल्सन थापा र युवराज चौधरी रहेका छन् । त्यस्तै, सुमेन्द्र चौधरी र आदिश आले उपचारपछि डिस्चार्ज भएका छन् । प्रिन्स विकलाई मध्यबिन्दु प्रादेशिक अस्पताल तथा खेमनारायण चौधरी र घनश्याम चौधरीलाई अरुणखोलास्थित सेवा मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जनाएको छ ।


