पहिलो बीएफसी च्याम्पियन्स कप फुटबल प्रतियोगिता हुने : विजेतालाई ५१ हजार पुरस्कार


बेलबारी । मोरङको बेलबारीमा प्रथम बीएफसी बेलबारी च्याम्पियन्स कप-२०८३ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । बहुनी फुटबल क्लब (बीएफसी), बेलबारी-७ को आयोजनामा सञ्चालन हुने प्रतियोगिताबारे आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

प्रतियोगितामा आठवटा फुटबल टोली सहभागी हुनेछन् । आयोजकले सार्वजनिक गरेको खेलतालिकाअनुसार प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ ।प्रतियोगिताअन्तर्गत पहिलो क्वार्टरफाइनलमा बेलबारी एफसी र एम्ब्रियो वाईसीबीच २०८३ कात्तिक २८ गते प्रतिस्पर्धा हुनेछ ।

त्यसै गरी, दोस्रो क्वार्टरफाइनलमा बीएफसी र एनईसीबीच कात्तिक २९ गते, तेस्रो क्वार्टरफाइनलमा बेतना युनाइटेड र डीएफसीबीच कात्तिक ३० गते तथा चौथो क्वार्टरफाइनल कात्तिक ३१ गते खेलाइने तालिका छ ।

प्रतियोगिताको सेमिफाइनल खेल मंसिर २ र ३ गते हुनेछ भने फाइनल खेल मंसिर ५ गते आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार रुपैयाँ र उपविजेता टोलीले ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

स्थानीय स्तरमा फुटबल खेलको विकास तथा नयाँ खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । आयोजक बहुनी फुटबल क्लबले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई धन्यवाद दिँदै खेलप्रेमी, फुटबलप्रेमी तथा सर्वसाधारणलाई प्रतियोगितामा उपस्थित भई खेलाडीको हौसला बढाउन आमन्त्रणसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्