काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय आउने’ भन्दै सामाजिक सञ्जालमा चेतावनीपूर्ण अभिव्यक्ति दिएको भोलिपल्ट नेपाली काँग्रेसका सभापति गगन थापाले त्यसको जवाफ फर्काएको संकेत गरेका छन् ।
सोमबार साँझ ठिक ६ बजे सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले भनेका छन्, “अहिले ठिक १८ः०० बजेको छ । तर्साउने धेरै आए, तर्सिने बानी परेन ।” थापाको यो अभिव्यक्ति प्रधानमन्त्री शाहको अघिल्लो स्टाटससँग जोडेर हेरिएको छ । प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक सञ्जालमा, “सही समय आएपछि सबैको गलत समय आउँछ, एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ” भन्दै लेखेका थिए ।

यसअघि आइतबार नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा विशेष सम्बोधन गर्दै थापाले सरकारको कार्यशैली, पत्रकार पक्राउ प्रकरण, राज्य शक्तिको प्रयोग, अनुसन्धानको निष्पक्षता र राज्यका संस्थाहरूको स्वायत्तताबारे प्रश्न उठाएका थिए । उनले सरकारमा बसेका व्यक्तिको इच्छा नै कानुन बन्न नसक्ने भन्दै शक्ति स्वेच्छाचारी रूपमा प्रयोग भइरहेको आरोप लगाएका थिए । पत्रकार पक्राउ गरेर केही समयपछि रिहा गर्दैमा घटना टुंगिने नभई त्यसको आदेश, प्रक्रिया र जिम्मेवारीबारे जवाफ खोजिनुपर्ने उनको भनाइ थियो ।
थापाले सरकारका गतिविधिमाथि प्रश्न उठाउनु प्रतिपक्षको जिम्मेवारी भएको उल्लेख गर्दै काँग्रेस अब वक्तव्यमा मात्र सीमित नहुने संकेतसमेत गरेका छन् । प्रेस स्वतन्त्रता, विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता र आर्थिक वातावरणका विषयमा सरकारलाई जबाफदेही बनाउने उनको अडान छ ।
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबिच सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका यी अभिव्यक्तिले सरकार र प्रतिपक्षबिचको राजनीतिक दूरी थप चर्चामा ल्याएको छ । यद्यपि थापाले आफ्नो पछिल्लो स्टाटसमा प्रधानमन्त्रीको नाम उल्लेख गरेका छैनन् । त्यसैले उनको अभिव्यक्तिलाई प्रधानमन्त्रीको स्टाटसको प्रत्यक्ष जवाफका रूपमा व्याख्या गरिए पनि त्यसको लक्षित पक्षबारे उनले स्पष्ट पारेका छैनन् ।


