काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयबाट कार्कीलाई राजीनामा दिन दबाब दिइएको दाबी सार्वजनिक भइरहेका बेला उनले बुधवार भर्चुअल सम्मेलनमार्फत मातहतका प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।

नेपाल प्रहरीका विभिन्न विभागीय प्रमुखको समेत सहभागिता रहेको सम्मेलनमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, तालिम केन्द्र तथा राजमार्ग र ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयका प्रमुखहरू सहभागी थिए । प्रहरी गण, गुल्म र प्रहरी निरीक्षकको नेतृत्वमा रहेका कार्यालयका प्रमुखहरूलाई समेत सम्मेलनमा समेटिएको थियो ।
सम्मेलनमा कार्कीले समसामयिक विषयमा निर्देशन दिएको जनाइए पनि निर्देशनका मुख्य विषय र कार्यान्वयनका प्राथमिकताबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

यसैबिच, प्रधानमन्त्रीको सचिवालयनिकट स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारहरूमा आईजीपी कार्कीलाई राजीनामा दिन आग्रह गरिएको र नदिए पदबाट हटाउने विकल्प अपनाउन सकिने सन्देश दिइएको दाबी गरिएको छ । त्यसपछि कार्कीले सम्भावित कानुनी प्रक्रियाबारे कानुन व्यवसायीसँग परामर्श गरेको समाचारमा उल्लेख छ ।
उक्त घटनाक्रमलाई इनम सापकोटासँग कार्कीको सम्पर्क रहेको दाबीसँग जोडिएको छ । सापकोटा पक्राउ पर्नुअघि उनी र कार्कीबिच ह्वाट्सएपमा सम्पर्क भएको दाबी सार्वजनिक भए पनि सम्पर्क हुनु मात्रैका आधारमा कुनै गैरकानुनी गतिविधिमा संलग्न रहेको निष्कर्ष निकाल्न मिल्दैन ।
हालसम्म प्रधानमन्त्रीको सचिवालय वा सरकारका तर्फबाट आईजीपी कार्कीसँग औपचारिक रूपमा राजीनामा मागिएको विषयमा सार्वजनिक पुष्टि भएको छैन ।



