एमाले सुन्दरहरैँचा-१० को शुभकामना आदानप्रदान : पार्टी पुनर्जागरण र एकतामा जोड


सुन्दरहरैँचा । नेकपा एमाले सुन्दरहरैँचा नगरपालिका-१० वडा कमिटीले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार सुन्दरहरैँचा-१० मा आयोजित कार्यक्रममा पार्टीको पुनर्जागरण, आन्तरिक एकता, जनताको विश्वास र युवा पुस्तालाई नेतृत्वमा समेट्नुपर्ने विषयमा नेताहरूले जोड दिएका छन् ।

कार्यक्रममा नेकपा एमाले मोरङ जिल्ला कमिटीको सल्लाहकार परिषद् संयोजक सुरेन्द्रबहादुर थापाले पार्टीको पुनर्जागरण र सुदृढीकरणको काम माथिल्लो कमिटीबाटै सुरु हुनुपर्ने बताए । अन्य पार्टी कमजोर भएपछि मात्र एमाले बलियो हुन्छ भन्ने सोच राख्न नहुने उल्लेख गर्दै उनले जनताको भावना बुझेर राम्रो काम गर्नुपर्ने धारणा राखे ।

पार्टीले विगत ३५ वर्षमा प्राप्त उपलब्धिलाई आधार बनाएर नेतृत्व गरिरहेको भए पनि जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न अझै बाँकी रहेको उनले बताए । जनताको विश्वास जित्न प्रतिबद्धता कार्यान्वयन र प्रभावकारी काममा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

नेकपा एमाले मोरङ जिल्ला कमिटीका उपसचिव सन्तोष राईले अबको नेतृत्व जनस्तरबाट चयन हुनुपर्ने बताए । उनले एक अर्कामाथि दोषारोपण गर्नुभन्दा पार्टीभित्र एकता कायम गर्नुपर्नेमा जोड दिए । सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने र जिम्मेवारी बाँडफाँट गर्ने संस्कृतिको विकास गर्नुपर्ने उनको धारणा थियो ।

जिल्ला कमिटी सदस्य मिलन घिमिरेले युवा पुस्ताको भावना, विचार र आकाङ्क्षालाई पार्टीले सम्बोधन गर्नुपर्ने बताए । युवालाई नेतृत्वमा अवसर दिएर पार्टीलाई समयानुकूल बनाउनुपर्ने उल्लेख गर्दै उनले चाडपर्वले आपसी सद्भाव र एकता बलियो बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला तथा नगर तहका नेता-कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । वडा कमिटी अध्यक्ष तेज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मिलन राईले गरे भने सञ्चालन सचिव मिलन तामाङले गरेका थिए ।

कार्यक्रममा सहभागी नेताहरूले विजयादशमी, दीपावली तथा छठ पर्वले आपसी सद्भाव, सामाजिक एकता र सहकार्यको भावना थप बलियो बनाउने विश्वास व्यक्त गर्दै शुभकामना आदानप्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्