बेलबारी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङको बेलबारी नगर कार्यसमितिको सभापतिमा छत्र लिम्बू निर्वाचित भएका छन् । त्रिपक्षीय प्रतिस्पर्धामा लिम्बूले २०३ मत प्राप्त गर्दै सभापतिको जिम्मेवारी पुनः आफ्नो पक्षमा पारेका हुन् ।
सभापतिका अर्का उम्मेदवार उपेन्द्र सुवेदीले ८७ मत प्राप्त गर्दा राजेश खत्रीले ६१ मत पाएका छन् । नगर अधिवेशनमा कुल ३५३ मत खसेको थियो । यससँगै बेलबारी कांग्रेसको नगर नेतृत्वमा लिम्बूले पुनः निरन्तरता पाएका छन् ।
सभापति पदको निर्वाचनसँगै नगर कार्यसमितिका अन्य प्रमुख पदमा भने यसअघि नै सर्वसम्मति जुटिसकेको थियो । उपसभापतिमा रिक्तबहादुर गुरुङ, सचिवमा सन्तोष भट्टराई र सहसचिवमा पदमाया कार्की ‘रञ्जिता’ सर्वसम्मत चयन भएका थिए । उनीहरू सबै लिम्बू नेतृत्वको प्यानलबाट अघि बढेका थिए ।
महिला उपसभापति पदमा भने रामकुमारी नेपाली, सिर्जना राई र कमला श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धामा रामकुमारी नेपाली निर्वाचित भएकी छन् । नेपाली पनि लिम्बू पक्षकै उम्मेदवार हुन् । यससँगै बेलबारी नगर कार्यसमितिका प्रमुख पदाधिकारीमा लिम्बू नेतृत्वको प्यानलले आफ्नो उपस्थिति स्थापित गरेको छ ।
बेलबारी-९ डाँगीहाटस्थित थारू कल्याणकारी संघको सभाहलमा भएको निर्वाचनमा सभापतिका लागि लिम्बूसँगै राजेश खत्री र उपेन्द्र सुवेदी मैदानमा थिए । लिम्बूले यसअघि पनि बेलबारी नगर सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् । खत्री क्षेत्रीय संगठनमा सचिवको जिम्मेवारी सम्हालिसकेका नेता हुन् भने सुवेदी यसअघि बेलबारी नगर कार्यसमितिको उपसभापतिको जिम्मेवारीमा थिए । दुवै नेताले नगर नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेपछि बेलबारीको अधिवेशनलाई क्षेत्र नं. ३ कै महत्त्वपूर्ण स्थानीय राजनीतिक प्रतिस्पर्धाका रूपमा हेरिएको थियो ।
पालिका अधिवेशनले केवल नगर नेतृत्व चयन गर्ने प्रक्रियामात्र पूरा गरेको छैन, आगामी क्षेत्रीय तथा माथिल्ला तहका संगठनात्मक समीकरणका लागि पनि आधार तयार गरेको छ । वडा तहबाट छनोट भएका प्रतिनिधिको मतमार्फत नगर नेतृत्व चयन भएकाले यसको प्रभाव आगामी क्षेत्रीय प्रतिनिधि तथा पार्टीका माथिल्ला तहका नेतृत्व चयनमा समेत देखिन सक्ने कांग्रेसका स्थानीय नेताहरूको बुझाइ छ ।
मोरङ क्षेत्र नं. ३ अन्तर्गतका अन्य स्थानीय तहमा पनि अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ । पथरीशनिश्चरे नगरपालिकामा सहमति जुटेपछि सन्तोष कटवालको नेतृत्वमा नगर कार्यसमिति चयन भइसकेको छ । कटवाल यसअघि नगर कार्यसमितिको सचिवको जिम्मेवारीमा थिए । कानेपोखरी गाउँपालिकामा पनि नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ भने सुन्दरहरैँचामा असोज १० गते अधिवेशन गर्ने तयारी गरिएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार १५औँ महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन प्रक्रिया देशभर अघि बढिरहेको छ । असोज ७ गते ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशन प्रक्रिया सम्पन्न भएको थियो भने बाँकी पालिकामा असोज ८ र ९ गते पनि प्रक्रिया जारी रहने जनाएको थियो । भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै निर्वाचन कार्यक्रमलाई स्थानीय मौसमअनुकूल व्यवस्थापन गर्न निर्वाचन अधिकृतहरूलाई निर्देशनसमेत दिइएको छ ।


