बेलबारी । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. ३ को क्षेत्रीय सभापति पदका लागि बेलबारी नगरपालिका–१० का गंगा याक्खाको नाम चर्चामा आएको छ । याक्खाले आफू क्षेत्रीय सभापति पदको आकांक्षी रहेको बताए पनि हालसम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा भने नगरेको बताएका छन् ।
क्षेत्रीय सभापति पदमा याक्खासँगै अन्य नेताहरू पनि आकांक्षी रहेको काँग्रेस वृत्तमा चर्चा छ । नेतृत्व चयनमा आपसी सहमति जुटाउने प्रयाससँगै निर्वाचनको विकल्पसमेत खुला रहेको छ । याक्खाले स्थानीय तथा माथिल्लो तहका नेतृत्वसँग आवश्यक छलफल र परामर्श गरेपछि आफ्नो उम्मेदवारीबारे औपचारिक निर्णय गर्ने तयारीमा रहेको उनका निकट स्रोतले जनाएको छ ।
काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत यस पटक अधिवेशनको कार्यतालिका पनि परिमार्जन गरिएको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो कार्यतालिकाअनुसार गाउँ-नगर वडा अधिवेशन असोज ३ र ४ गते, गाउँ-नगरपालिका अधिवेशन असोज ७ गते तथा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने तय भएको छ । केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ ।
याक्खाको राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु भएको हो । उनी २०४९ सालमा कक्षा ८ मा अध्ययनरत रहँदा साबिक डाँगीहाट-१, हाल बेलबारी-१० स्थित धिरनाथ सनफूल माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाइ समितिको कार्यसमिति सदस्य बनेर काँग्रेस राजनीतिमा प्रवेश गरेका थिए । त्यसपछि पार्टीको संगठनमा निरन्तर सक्रिय रहँदै १२औँ महाधिवेशनबाट क्रियाशील सदस्य बनेर मूलधारको राजनीतिमा थप सक्रिय भएको उनले बताए ।
स्थानीय सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय रहँदै आएका याक्खाले बेलबारी-१० स्थित बाहुनी यूथ क्लबको संस्थापक अध्यक्ष तथा सिर्जना सामुदायिक वनको अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । स्थानीय तहको निर्वाचनमा २०७४ सालमा बेलबारी-१० को वडा अध्यक्षमा निर्वाचित भएका याक्खा त्यसपछिको निर्वाचनमा पनि पुनः निर्वाचित हुँदै हाल दोस्रो कार्यकाल सम्हालिरहेका छन् ।
स्थानीय तहको नेतृत्वसँगै पार्टी संगठनमा समेत जिम्मेवारी सम्हाल्दै आएका याक्खा हाल नेपाली काँग्रेस मोरङ क्षेत्र नं. ३ को प्रदेश सभा क्षेत्र ‘क’ का सभापति रहेका छन् । पार्टीको संगठनात्मक संरचनाअनुसार प्रदेश सभा क्षेत्रीय सभापतिको जिम्मेवारीसँगै उनी मोरङ क्षेत्र नं. ३ को क्षेत्रीय उपसभापतिको भूमिकामा समेत रहेका छन् ।
क्षेत्रीय सभापति पदका लागि याक्खासँगै राजेन्द्र अधिकारीको नाम पनि चर्चामा रहेको छ । अधिकारी मोरङ क्षेत्र नं. ३ का क्षेत्रीय सचिवका रूपमा सक्रिय रहेको छन् । याक्खाको राजनीतिक सक्रियताका कारण आगामी दिनमा उनलाई बेलबारी नगर नेतृत्वका लागि समेत सम्भावित दाबेदारका रूपमा हेरिएको छ ।
यद्यपि कुनै पनि पदका लागि उनको औपचारिक उम्मेदवारी वा पार्टीभित्रको अन्तिम समीकरणबारे अहिले नै निष्कर्ष निकाल्न सकिने अवस्था छैन । क्षेत्रीय सभापति चयनमा सहमति जुट्छ वा निर्वाचन प्रक्रियामा जान्छ भन्ने विषय आगामी अधिवेशनका क्रममा टुङ्गो लाग्नेछ ।
काँग्रेसको पछिल्लो कार्यतालिकाअनुसार प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने तयारी छ । त्यसैले क्षेत्रीय नेतृत्वका आकांक्षीहरूले त्यसअघि नै आन्तरिक छलफल, सहमति र उम्मेदवारीसम्बन्धी निर्णयलाई अन्तिम रूप दिने देखिन्छ ।


