किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई


पथरीशनिश्चरे । किरात राई यायोक्खा मोरङको अध्यक्षमा केदार चाम्लिङ राई पुनः सर्वसम्मत निर्वाचित भएका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका-१ स्थित हरियाली सामुदायिक वनको सभाहलमा शनिवार सम्पन्न संस्थाको आठौँ अधिवेशनले राईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अध्यक्षमा पुनः निर्वाचित भएका केदार चाम्लिङ राईले यसअघि पनि संस्थाको नेतृत्व गर्दै आएका थिए । अधिवेशनको खुला सत्रमा किरात राई यायोक्खाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तिलक प्रसाद राई प्रमुख अतिथिका रूपमा सहभागी थिए । खुला सत्रपछि सम्पन्न बन्दसत्रमा समेत तिलक प्रसाद राईकै संयोजकत्वमा निर्वाचन मण्डल गठन गरी नयाँ कार्यसमिति चयन गरिएको थियो ।

निर्वाचन मण्डलमा किरात राई यायोक्खाका केन्द्रीय उपमहासचिव अर्जुन राई, केन्द्रीय सचिव नगेन्द्रचन्द्र राई, प्रदेश सचिव राम राई तथा निवर्तमान जिल्ला उपाध्यक्ष सीता कुमारी राई सदस्य रहेका थिए । निर्वाचन मण्डलले सहमति र सर्वसम्मतिका आधारमा नयाँ कार्यसमिति चयन गरेको जनाएको छ ।

अधिवेशनबाट अध्यक्षमा केदार चाम्लिङ राई निर्वाचित हुँदा उपाध्यक्षमा कासिहाङ राई र सुभद्रा राई चयन भएका छन् । त्यस्तै सचिवमा युवराज राई, सह-सचिवमा उमेश राई र मोहन राई तथा कोषाध्यक्षमा ताराधन राई निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको सदस्यमा सर्वलाल रहनु, कालुमान राई, राम राई, दिपा थुलुङ राई, नैनाकला राई, फुलमाया राई र ईश्वर कुमार राई लगायत चयन भएका छन् । आठौँ अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएपछि संस्थाभित्रको एकता र सहकार्यलाई थप मजबुत बनाउँदै आगामी दिनमा किरात राई समुदायका सामाजिक तथा सांस्कृतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्