बेलबारी, मोरङ । मोरङको बेलबारीमा प्रथम लालभित्ती भेट्रान फुटबल प्रतियोगिता-२०८३ हुने भएको छ । लालभित्ती भेट्रान फुटबल क्लब बेलबारी-२, मोरङको आयोजनामा आगामी असोज १ गतेदेखि १० गतेसम्म बेलबारी-२ स्थित बागदेवी खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगिताबारे आयोजकले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । आयोजकका अनुसार प्रतियोगितामा मोरङसहित कोशी प्रदेशका विभिन्न जिल्लाबाट भेट्रान फुटबल टोलीहरूको सहभागिता रहनेछ । लामो समयदेखि फुटबल खेल्दै आएका तथा उमेर समूहका कारण नियमित प्रतिस्पर्धाबाट टाढिँदै गएका खेलाडीलाई पुनः मैदानमा जोड्ने, उनीहरूबीचको सम्बन्धलाई थप बलियो बनाउने तथा स्थानीयस्तरमा भेट्रान फुटबलको गतिविधिलाई विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगिताको उद्घाटन खेल असोज १ गते दिउँसो ३ः३० बजे हुनेछ । उद्घाटन खेलमा मिल्स भेट्रान विराटनगर र प्रतियोगितामा सहभागी अर्को टोलीबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष भीम राईले जानकारी दिए ।
त्यसैगरी असोज २ गते दिउँसो ३ः३० बजे पूर्वेली भेट्रान धरान र राइजिङ भेट्रान इटहरीबीच प्रतिस्पर्धा हुनेछ । असोज ३ गते बेलुका ३ः३० बजे बेलका भेट्रान उदयपुर र डुडामारी फाक्तेक भेट्रान झापाबीच खेल हुने अध्यक्ष राईले बताए ।
राईका अनुसार असोज ६ गते दिउँसो ३ः३० बजे अर्को खेल हुनेछ भने असोज ७ गते दिउँसो ३ः३० बजे उर्लाबारी धल्केजोबन भेट्रान र सहारा भेट्रान पथरी शनिश्चरेसँग सम्बन्धित खेलहरू सञ्चालन हुनेछन् । यस्तै, असोज ८ गते दिउँसो ३ः३० बजे युनाइटेड भेट्रान विराटनगर र दमक भेट्रान झापासहितका टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको अन्तिम खेल तथा समापन कार्यक्रम असोज १० गते शनिबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार रुपैयाँ र उपविजेता टोलीले ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष राईले जानकारी दिए । प्रतियोगितामा विराटनगर, बेलबारी, उर्लाबारी, पथरी-शनिश्चरे, धरान, इटहरी, उदयपुर, झापालगायत विभिन्न स्थानका भेट्रान टोली सहभागी हुने उनले बताए ।
प्रतियोगिताले प्रतिस्पर्धासँगै विभिन्न स्थानका भेट्रान खेलाडीलाई एउटै मैदानमा भेट गराउने र उनीहरूबीचको पुरानो आत्मीयता तथा खेलसम्बन्धलाई पुनः जोड्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ । फुटबलबाट लामो समयदेखि जोडिएका खेलाडीलाई एउटै मञ्चमा ल्याएर अनुभव आदानप्रदान गर्ने वातावरण निर्माण गर्नु प्रतियोगिताको अर्को महत्वपूर्ण उद्देश्य रहेको पत्रकार सम्मेलनका सञ्चालक श्याम लिम्बूले बताए ।
उनका अनुसार भेट्रान फुटबल केवल खेल जित्ने र हार्ने विषय मात्र नभई खेलाडीबीचको मित्रता, भाइचारा, अनुशासन र आपसी सद्भावलाई निरन्तरता दिने माध्यम पनि हो । प्रतियोगिताले नयाँ पुस्तालाई खेलकुदप्रति आकर्षित गर्न तथा स्थानीयस्तरमा खेलकुदको वातावरण निर्माण गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आयोजकले प्रतियोगितालाई सफल बनाउन स्थानीय खेलप्रेमी, संघसंस्था, व्यवसायी, सामाजिक संस्था तथा सम्पूर्ण सरोकारवालालाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ ।


