बेलबारीमा एमालेको ‘मिसन पार्टी जागरण’ 


बेलबारी । नेकपा (एमाले) बेलबारी नगरपालिका कमिटीले पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत प्रथम विस्तारित बैठक सम्पन्न गरेको छ। बेलबारी नगरपालिका-१ स्थित पार्टीको आफ्नै भवनमा शनिवार सम्पन्न बैठकमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनतामाझ प्रभावकारी रूपमा पुग्ने विषयमा छलफल भएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य, मोरङ जिल्ला इन्चार्ज तथा पूर्व सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले पार्टीप्रति आम जनता, विपक्षी दल तथा कार्यकर्ताले उठाउने मुख्य ११ वटा प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने बताए । पार्टीका आधिकारिक निर्णय, अपानि-१ र २ तथा ‘मिसन पार्टी जागरण’ अभियानको सर्कुलरले ती प्रश्नहरूको जवाफ स्पष्ट रूपमा दिएको उल्लेख गर्दै उनले त्यसलाई जनस्तरसम्म प्रभावकारी ढङ्गले पुर्‍याउनुपर्नेमा जोड दिए ।

पोखरेलले पार्टीभित्र एकता कायम गर्दै अघि बढ्नुपर्ने बताउँदै अब पार्टीमा अवसर खोज्नेभन्दा योगदान गर्ने भावनाका साथ सक्रिय हुन कार्यकर्तालाई आग्रह गरे । पार्टीको संगठनात्मक शक्ति र जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै वर्तमान राजनीतिक परिस्थितिमा एमालेले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

बैठकका विशिष्ट अतिथि तथा बेलबारी नगरपालिकाका लागि ‘मिसन पार्टी जागरण’ अभियानका केन्द्रीय प्रतिनिधि ईरान राईले प्रत्येक वडामा १८ देखि २५ वर्ष उमेर समूहका युवा तथा विद्यार्थीलाई पार्टीसँग जोड्दै राजनीतिक र सामाजिक रूपमा प्रशिक्षित गर्नुपर्ने बताए । नयाँ पुस्तालाई नेतृत्वका लागि तयार पार्दै क्रमशः नेतृत्व हस्तान्तरणको वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

राईले वर्तमान सरकारले गरेका सकारात्मक कामलाई समर्थन गर्दै जनविरोधी तथा राष्ट्रहितविपरीत हुने गतिविधिको विरोध र निगरानी गर्नुपर्ने बताए । एमालेले जनताका सवाल र समस्यालाई नजिकबाट बुझेर त्यसैअनुसार आफ्नो राजनीतिक गतिविधि अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, नेकपा (एमाले) मोरङ जिल्ला कमिटीका उपसचिव सन्तोष बान्तावाले दोस्रो विस्तारित जिल्ला कमिटी बैठकले गरेका निर्णयलाई वडा तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । जिल्ला कमिटीका सदस्यहरूले आफूलाई तोकिएको जिम्मेवारीअनुसार वडा-वडामा पुगेर निर्णय कार्यान्वयन गराउन सक्रिय भूमिका खेल्नुपर्ने उनले उल्लेख गरे ।

बैठकमा कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई, कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी र पार्टी प्रदेश कार्यालय सचिव नरेन्द्र बराललगायतको उपस्थिति थियो । कार्यक्रममा कोशी प्रदेश कमिटीका सदस्यहरू मधु गुरुङ, प्रकाश राई, गीता सिबा, जे.बी. थुलुङ, रबिन थापा, पीपी थापामगर, देवीप्रसाद गौतम, रामचन्द्र घिमिरेलगायत नेताहरू सहभागी थिए ।

बैठकको अध्यक्षता नेकपा (एमाले) बेलबारी नगरपालिका कमिटीका अध्यक्ष शङ्कर गुरुङले गरेका थिए भने सचिव अजित अधिकारीले सञ्चालन गरेका थिए । गत २०८२ भदौ २४ गते आगजनीबाट क्षति पुगेको बेलबारी नगरपालिका-१ स्थित एमाले नगर कमिटीको आफ्नै भवनको जीर्णोद्धारको कामसमेत भइरहेको छ । सोही भवनमा आयोजित विस्तारित बैठकले पार्टी संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउँदै ‘मिसन पार्टी जागरण’ अभियानलाई वडा तहसम्म प्रभावकारी रूपमा लैजाने सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्