विपन्न साम्पाङ परिवारलाई बेलबारीमा घर हस्तान्तरण : स्थानीयको सहयोगमा बन्यो नयाँ आश्रय


बेलबारी । मोरङको बेलबारी नगरपालिका-४ स्थित मिलनचोकमा एक विपन्न परिवारका लागि निर्माण गरिएको घर औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । स्वर्गीय धनकुमार साम्पाङको परिवारका लागि निर्माण गरिएको घर शनिवार एक कार्यक्रमबिच हस्तान्तरण गरिएको हो ।

घरको औपचारिक उद्घाटन गर्दै श्रम संस्कृति पार्टीका नेता तिलकप्रसाद राईले स्वर्गीय धनकुमार साम्पाङकी श्रीमतीहरू रामकुमारी राई र प्रेमकुमारी राईलाई घरको चाबी हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै तिलकप्रसाद राईले आर्थिक रूपमा कमजोर तथा सहाराविहीन परिवारलाई सुरक्षित आवास उपलब्ध गराउनु सामाजिक दायित्व भएको बताए । उनले विपन्न परिवारका लागि घर निर्माण गर्न स्थानीयस्तरबाट भएको सहयोग र श्रमदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै निर्माण कार्यमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

उनका अनुसार स्वर्गीय धनकुमार साम्पाङको निधनपछि परिवारमा उनकी दुई श्रीमती मात्र रहेकी छन् । दुवैजना वृद्ध उमेरका छन् । परिवारमा रहेका एक छोरा लामो समयदेखि मानसिक समस्यासँगै सम्पर्कविहीन रहेको र छोरीहरू विवाहपछि आ-आफ्नो घरमा रहेको उनले जनाए । त्यसैले वृद्ध अवस्थामा रहेका दुई महिलाका लागि सुरक्षित आवास आवश्यक देखिएपछि घर निर्माणको पहल गरिएको राईले बताए ।

घर निर्माणको पहल तिलकप्रसाद राईको नेतृत्वमा सुरु गरिएको कार्यक्रम सञ्चालक प्रकाश लिम्बूले जानकारी दिए । उनका अनुसार २०८१ माघ २ गतेदेखि निर्माण सुरु गरिएको घर २०८२ माघमै निर्माण सम्पन्न भएको थियो । विभिन्न कारणले औपचारिक हस्तान्तरणमा केही ढिलाइ भए पनि घरको रङरोगनलगायत आवश्यक काम पूरा गरेर २०८३ भदौ १३ गते शनिवार परिवारलाई घर हस्तान्तरण गरिएको हो । यो घर निर्माणमा स्थानीयवासी, सामुदायिक वन, विभिन्न संघसंस्था तथा व्यक्तिगत रूपमा प्राप्त आर्थिक सहयोगसँगै श्रमदानसमेत प्रयोग गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष श्याम गुरुङले निर्माण योजनाको आय-व्यय विवरणसमेत सार्वजनिक गरे । गुरुङका अनुसार बेलबारी नगरपालिका वडा नं. ४ कार्यालयबाट ३५ हजार रुपैयाँ बराबरको टिन, तिलकप्रसाद राईबाट ३२ हजार ५ सय रुपैयाँ, स्वर्गिक मार्ग संघ बेलबारीबाट २५ हजार रुपैयाँ, साउदी अरबमा रहेका बुद्धिमान लिम्बूको नेतृत्वमा ४१ हजार रुपैयाँ, आदिवासी राहत कोषबाट २० हजार रुपैयाँ र कञ्चन राईबाट २० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । ललित राईले ३० हजार रुपैयाँ बराबरको इँटा उपलब्ध गराएका थिए ।

त्यस्तै, देवीथान सामुदायिक वनले १० हजार रुपैयाँ तथा १८ हजार ४ सय ४२ रुपैयाँ बराबरको काठ, लक्ष्मी सामुदायिक वन, अमना सिसौली सामुदायिक वन, सिंहदेवी सामुदायिक वन र नक्सल सामुदायिक वनले जनही १०-१० हजार रुपैयाँ सहयोग गरेका थिए । स्थानीयवासी तथा विभिन्न संघसंस्थाबाट प्राप्त आर्थिक सहयोग र श्रमदानसमेत जोड्दा घर निर्माणमा कुल ३ लाख ७६ हजार ६ सय ८२ रुपैयाँ खर्च भएको गुरुङले जानकारी दिए ।

घर हस्तान्तरण कार्यक्रम केवल एउटा परिवारलाई नयाँ घरको चाबी दिने कार्यक्रममा सीमित रहेन । विपन्न परिवारको कठिन परिस्थितिमा समुदाय एकजुट भएर कसरी सुरक्षित आवास निर्माण गर्न सक्छ भन्ने उदाहरणका रूपमा समेत यसलाई हेरिएको छ । कार्यक्रममा बेलबारी नगरपालिका वडा नं. ३ का वडासदस्य तथा श्रम संस्कृति पार्टीका कोशी प्रदेश सदस्य भोगेन्द्र राई, मन कुमार गुरुङ, राम कुमार राई, क्षत्रे नं.३ का अध्यक्ष शिव कुमार राई, सन्तोष तामाङलगायत स्थानीयवासी तथा सहयोगीहरूको उपस्थिति रहेको थियो ।

फोटो – निशान कार्की

प्रतिक्रिया दिनुहोस्