बेलबारी । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले मोरङको बेलबारी-३ स्थित पूजा ट्रेडर्सले ५० हजार रुपैयाँ सहयोग गरेको छ । पूजा ट्रेडर्सले प्रधानमन्त्री विपद् राहत कोषमा ५० हजार रुपैयाँ जम्मा गरेको हो ।
बाढी तथा पहिरोका कारण रसुवालगायतका प्रभावित क्षेत्रमा ठुलो जनधनको क्षति भइरहेका बेला पीडित परिवारको राहत र पुनःस्थापनाका लागि सहयोग जुटिरहेका बेला पूजा ट्रेडर्सले पनि आफ्नो तर्फबाट आर्थिक सहयोग गरेको हो । प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको जनजीवन कठिन बनेको अवस्थामा राज्यका निकायसँगै निजी क्षेत्र, व्यवसायी, संघसंस्था तथा सर्वसाधारणबाट भइरहेको सहयोगले राहत अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ । यही मानवीय भावनालाई आत्मसात् गर्दै पूजा ट्रेडर्सले राहत कोषमा रकम प्रदान गरेको जनाएको छ ।
पूजा ट्रेडर्सका सञ्चालक अग्नि अधिकारीले विपद्को समयमा पीडित परिवारको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए । उनले आफूले गरेको सहयोग ठुलो रकमका रूपमा भन्दा पनि दुःखमा परेका नागरिकप्रतिको मानवीय सहयोग र ऐक्यबद्धताका रूपमा लिनुपर्ने बताए ।
अधिकारीका अनुसार विपद्को समयमा आफूले सक्ने सहयोग गर्नु सामाजिक जिम्मेवारी पनि हो । बाढी तथा पहिरोबाट प्रभावित परिवारले भोगिरहेको पीडा र कठिन परिस्थितिलाई ध्यानमा राख्दै आफ्नो व्यवसायबाट केही रकम राहतका लागि छुटाइएको उनले बताए ।
पीडामा परेका नागरिकका लागि गरिएको ५० हजार रुपैयाँको सहयोग रकम मात्र होइन, संकटको समयमा पीडितको साथमा उभिने मानवीय भावना पनि हो ।


