खोर्सानेका महिलाको उदाहरणीय सहयोग : तिहारमा सङ्कलित रकम बाढीपीडितलाई


मोरङ, १२ भदौ । पर्वका लागि छुटाएको रकम आफैँमा खर्च नगरी विपत्तिमा परेका नागरिकको सहयोगका लागि प्रदान गरेर मोरङको सुन्दरहरैँचाका महिलाहरूले मानवीयताको उदाहरण प्रस्तुत गरेका छन् ।

सुन्दरहरैँचा नगरपालिका-१०, सिद्धार्थ टोलमा बसोबास गर्ने साथी महिला समूहले गत वर्षको तिहारका अवसरमा सङ्कलन गरेको तेइस हजार रुपैयाँ रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

समूहका अनुसार उक्त रकम उनीहरूले पर्वका अवसरमा खानपिन तथा अन्य प्रयोजनका लागि छुटाएका थिए । तर पछिल्लो समय रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठुलो जनधनको क्षति पुर्‍याएपछि आफूहरूले जम्मा गरेको रकम विपत्तिमा परेका नेपालीको सहयोगमा प्रयोग गर्ने निर्णय गरेका हुन् ।

‘आफ्नो खुसीभन्दा विपत्तिमा परेका नागरिकको पीडा ठुलो’

साथी महिला समूहका सदस्यहरूले थोरै-थोरै रकमबाट जम्मा भएको भए पनि आवश्यक परेको समयमा त्यसले कसैको जीवनमा सहयोग पुग्न सक्ने भावना राखेर रकम सहयोग गरिएको बताएका छन् ।

दैनिक जीवनबाट थोरै रकम बचत गरेर पनि विपत्तिमा परेका नागरिकका लागि सहयोग गर्न सकिन्छ भन्ने सन्देश दिन आफूहरूले यो कदम चालेका हुन् । पर्वका लागि छुटाइएको रकम विपद्का पीडितका लागि समर्पण गर्नुले सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई प्राथमिकता दिएको हो ।

प्रतिक्रिया दिनुहोस्