विराटनगर । मोरङ प्रहरीले ३ किलो ७६० ग्राम लागूऔषध गाँजा र नगद २ लाख ७१ हजार रुपैयाँसहित सुन्दरहरैँचाका एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विशेष सूचनाका आधारमा बुधवार साँझ सुन्दरहरैँचा नगरपालिका-१ स्थित ४९ वर्षीय सुन्दर लाल चौधरीको घरमा प्रहरीले चेकजाँच गरेको थियो । इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको संयुक्त प्रहरी टोलीले घर खानतलासी गर्दा गाँजा र ठुलो परिमाणमा नगद रकम फेला पारेको हो ।
प्रहरीका अनुसार घरबाट ३ किलो ७६० ग्राम गाँजा र नेपाली नगद २ लाख ७१ हजार रुपैयाँ बरामद गरिएको छ । बरामद लागूऔषध तथा नगद रकमसहित चौधरीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ परेका चौधरीमाथि लागूऔषधसम्बन्धी कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाइने बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार लागूऔषधको कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले सूचना संकलन तथा निगरानीलाई निरन्तरता दिइरहेको छ ।


