बेलबारीमा बत्तीसौँ विश्व आदिवासी दिवस : पहिचान, अधिकार र आर्थिक सशक्तीकरणमा जोड


बेलबारी, मोरङ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बेलबारी, मोरङको आयोजनामा बत्तीसौँ विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ । ‘आदिवासी सुँडेनीहरूलाई सम्मान : जीवन र कल्याणको सुरक्षा’ भन्ने मूल भावनासहित आइतबार आयोजित कार्यक्रममा आदिवासी जनजाति समुदायबाट बारिष्टा तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै आदिवासी अधिकार, पहिचान, सामाजिक चेतना र आर्थिक सशक्तीकरणका विषयमा छलफल गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले विश्व आदिवासी दिवसलाई केवल औपचारिक रूपमा मनाउनेभन्दा पनि यस अवसरलाई राजनीतिक तथा सामाजिक चेतनाको विकास, आर्थिक उन्नति र जीवनस्तर सुधारको समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताए ।नगरप्रमुख राईले जलवायु परिवर्तन र वातावरणीय विनाशको असर आदिवासी जनजाति समुदायमा प्रत्यक्ष रूपमा परिरहेको उल्लेख गर्दै आधुनिक विकासका नाममा प्राकृतिक स्रोत र वातावरणमाथि बढ्दो दबाबले परम्परागत जीवनशैली, संस्कृति र जीविकोपार्जनमा असर पुर्‍याइरहेको उनले बताए । आदिवासी समुदायको अधिकार, संरक्षण र विकासका सवालमा नगरपालिका सकारात्मक रहेको उल्लेख गर्दै उनले तालिमप्राप्त प्रशिक्षार्थीहरूलाई सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक क्षेत्रमा अघि बढ्न शुभकामना दिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ प्रदेशका मुख्य सचिव तिलकप्रसाद राईले विश्व आदिवासी दिवसको ऐतिहासिक महत्वबारे जानकारी दिँदै आदिवासी जनजाति समुदायले आफ्नो पहिचान र राजनीतिक अधिकारका विषयमा थप सचेत र संगठित हुनुपर्ने धारणा व्यक्त गरे । अधिकार प्राप्तिका लागि सामाजिक चेतनासँगै राजनीतिक सहभागिता र नीतिनिर्माण तहमा प्रभावकारी उपस्थिति आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्का सल्लाहकार, विभिन्न जातीय संस्थाका नेतृत्व तथा प्रतिनिधिहरूले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति, परम्परागत ज्ञान, प्राकृतिक स्रोतमा पहुँच तथा राजनीतिक अधिकारका सवाललाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।

विश्व आदिवासी दिवस आदिवासी जनजातिको पहिचान, अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा राजनीतिक, सामाजिक र आर्थिक सहभागिताका सवाललाई उजागर गर्ने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय दिवस हो । संयुक्त राष्ट्रसंघले सन् १९९४ देखि अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउँदै आएको छ ।

वक्ताहरूले विश्व आदिवासी दिवसलाई केवल उत्सवका रूपमा सीमित नराखी आदिवासी समुदायले भोगिरहेका वास्तविक समस्या पहिचान गर्ने, अधिकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने र आगामी पुस्ताका लागि संस्कृति तथा पहिचान संरक्षण गर्ने अवसरका रूपमा लिनुपर्ने बताए । यसै अवसरमा आदिवासी जनजाति समुदायबाट बारिष्टा तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । सीपमूलक तालिममार्फत युवालाई रोजगारी तथा स्वरोजगारसँग जोड्ने प्रयासले समुदायको आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

‘विश्वका आदिवासी एक होऔँ’ भन्ने आह्वानसहित सम्पन्न कार्यक्रमले आदिवासी जनजातिको पहिचान र अधिकार संरक्षणसँगै बदलिँदो समयअनुकूल आर्थिक तथा सामाजिक रूपान्तरणमा समेत समुदायलाई अघि बढाउनुपर्ने सन्देश दिएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्, बेलबारीका अध्यक्ष कुमार बोखिमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन सचिव सिता तामाङले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्