४ वर्षीया बालिकाको हत्या आरोपमा एक पक्राउ


विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा चार वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धानलाई तीव्र बनाएको छ । घटनाको करिब दुई सातापछि अनुसन्धानका क्रममा संलग्न रहेको आशंकामा एक स्थानीयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार साउन ८ गते मोरङको सुनवर्षी नगरपालिका-९ डाइनिया मुस्लिम टोल निवासी जफारुल मियाँकी चार वर्षीया छोरी कायानत खातुन घाँसीबारीभित्र मृत अवस्थामा फेला परेकी थिइन् । घटनापछि बालिकाको मृत्यु रहस्यमय बनेको थियो भने प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा संकलित प्रमाण, घटनास्थलको अवस्था, प्राप्त सूचनाहरू तथा अन्य तथ्यहरूको विश्लेषणपछि सोही स्थानका ५९ वर्षीय जान महमद मन्सुरी घटनामा संलग्न रहेको देखिएको भन्दै प्रहरीले उनलाई साउन २० गते आफ्नै घरबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका मन्सुरीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको वास्तविक कारण, सम्भावित उद्देश्य तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान जारी रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार यो घटनामा अनुसन्धान अझै जारी रहेकाले थप तथ्यहरू अनुसन्धानको प्रगतिसँगै सार्वजनिक गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्