लेटाङ । सुनसरीको देवानगञ्जमा भएको दुःखद घटनापछि देशका विभिन्न स्थानमा धार्मिक तथा सामाजिक तनाव देखिएको सन्दर्भमा मोरङको लेटाङ नगरपालिकाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले सर्वपक्षीय शान्ति सद्भाव परिक्रमा आयोजना गरेको छ ।
आइतबार लेटाङ नगरपालिका-१ स्थित अन्तरधार्मिक शान्ति पार्कमा सम्पन्न कार्यक्रममा विभिन्न धर्मका धर्मगुरु, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार तथा स्थानीयवासीको सहभागिता रहेको थियो । कार्यक्रममा सबै धर्म र समुदायबीच आपसी सम्मान, सहअस्तित्व तथा सहिष्णुतालाई अझ मजबुत बनाउने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो ।

कार्यक्रम लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावतीको अध्यक्षतामा सम्पन्न भएको हो । नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा अन्तरधार्मिक शान्ति सञ्जाल, मोरङ तथा सामुदायिक विकास मञ्च (CDF) नेपालले सहकार्य गरेका थिए ।
नगर प्रमुख लावतीले श्रावण १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको दुःखद घटनाले सम्पूर्ण समाजलाई गम्भीर बनाएको उल्लेख गर्दै त्यस्ता घटनाले समाजमा विभाजन नभई अझ बढी एकताको आवश्यकता महसुस गराएको बताए । उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

नेपाल विभिन्न जाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी भएको उल्लेख गर्दै सामाजिक सद्भाव कायम राख्नु सबै नागरिकको साझा दायित्व भएको नगर प्रमुख लावती बताउछन् । उनले अपुष्ट सूचना, अफवाह र सामाजिक सञ्जालमार्फत फैलाइने उत्तेजनात्मक सामग्रीप्रति सचेत रहन आग्रह गर्दै सामाजिक सद्भावमा खलल पुग्ने गतिविधिबाट टाढा रहन सबैसँग अनुरोध गरेका छन् । उनले मानवीय क्षति निम्त्याएको घटनाको निष्पक्ष, पारदर्शी र तथ्यपरक छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण पनि गराए ।
कार्यक्रममा उपस्थित विभिन्न धर्मका धर्मगुरुहरूले सबै धर्मको मूल शिक्षा शान्ति, प्रेम, करुणा र मानवताको पक्षमा रहेको उल्लेख गर्दै धर्मका नाममा द्वन्द्व होइन, आपसी सम्मान र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे । धार्मिक आस्था फरक भए पनि मानवताको उद्देश्य एउटै भएकाले विभाजन होइन, सहकार्य र सहअस्तित्वलाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ थियो ।

राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक अगुवाहरूले पनि धार्मिक विविधतालाई नेपालको शक्ति भएको उल्लेख गर्दै कुनै पनि उक्साहट वा अफवाहको पछि नलागी सामाजिक एकता र सद्भावलाई अझ सुदृढ बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । सहभागीहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सहिष्णुता र राष्ट्रिय एकताको संरक्षणका लागि संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमका क्रममा अन्तरधार्मिक शान्ति पार्क परिसरमा शान्ति, सद्भाव र धार्मिक सहिष्णुताको सन्देश बोकेको सर्वपक्षीय शान्ति परिक्रमा गरिएको थियो । सहभागीहरूले “सबैको धार्मिक आस्थालाई सम्मान गरौं”, “धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गरौं” तथा “सामाजिक सद्भाव कायम गरौं” लगायतका सन्देशसहित एकताको पक्षमा ऐक्यबद्धता व्यक्त गरेका थिए ।

नगरपालिकाका अनुसार, सुनसरी घटनापछि समाजमा देखिएको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्न तथा धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई थप बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको अन्त्यमा सहभागीहरूले नेपाललाई धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा सद्भावपूर्ण राष्ट्रका रूपमा कायम राख्न सबै नागरिक, राजनीतिक दल, धार्मिक संस्था र राज्य संयन्त्रले समन्वयात्मक भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउँदै शान्ति, सहिष्णुता र आपसी विश्वासलाई अझ सुदृढ बनाउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए ।





