काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा गएको भीषण हिमपहिरोमा परेर बेपत्ता भएका सबै १० जना आरोहीको निधन भएको पुष्टि भएको छ । विश्व पर्वतारोहण क्षेत्रमा ऐतिहासिक कीर्तिमान कायम गरेका नेपाली आरोही निर्मल ‘निम्सदाइ’ पुर्जा सहित ६ जना नेपाली र ४ जना विदेशी आरोहीको ज्यान गएको पुष्टि भएपछि नेपालसहित अन्तर्राष्ट्रिय पर्वतारोहण समुदाय शोकमा डुबेको छ ।
आरोहण अभियानको नेतृत्व गरिरहेका निर्मल पुर्जाले स्थापना गरेको एलिट एक्स्पेड ले शनिवार आधिकारिक वक्तव्यमार्फत हिमपहिरोमा सम्पर्कविहीन भएका सबै आरोहीको निधन भएको पुष्टि गरेको हो । कम्पनीले निर्मल पुर्जालाई साहस, नेतृत्व, अनुशासन र मानवीय सेवाको अनुपम उदाहरणका रूपमा स्मरण गर्दै उहाँको योगदान विश्व पर्वतारोहण इतिहासमा सदैव अमिट रहने उल्लेख गरेको छ ।
गत बिहीबार ब्रोड पिक आरोहणका क्रममा करिब ६ हजार ७ सय मिटर उचाइ आसपास अचानक आएको विशाल हिमपहिरोले आरोहण टोलीलाई बगाएको थियो । हिमपहिरोपछि टोलीका सदस्यहरूसँग सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो । प्रतिकूल मौसम, बाक्लो हिमपात र अत्यन्त जोखिमपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार तथा खोजी कार्य निकै कठिन बनेको थियो। प्रारम्भिक चरणमा चार जनाको शव फेला परेको थियो भने त्यसपछिको खोजीका क्रममा बाँकी सबै आरोहीको पनि मृत्यु भएको पुष्टि भएको हो ।
यस दुर्घटनामा ज्यान गुमाउने नेपाली आरोहीहरूमा निर्मल पुर्जा ‘निम्सदाइ’, पुरबहादुर गुरुङ (युक्ता), निमा शेर्पा, किली पेम्बा शेर्पा (किलु), ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन् । त्यस्तै विदेशी आरोहीहरूमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र संयुक्त राज्य अमेरिकाकी म्यालोरी गाइस रहेका छन् ।
४३ वर्षीय निर्मल पुर्जा आधुनिक पर्वतारोहणका सबैभन्दा प्रभावशाली व्यक्तित्वमध्ये एक मानिन्थे। उनले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । त्यस उपलब्धिले नेपाली पर्वतारोहणलाई विश्वमञ्चमा नयाँ उचाइमा पुर्याएको थियो। उनी पूर्व बेलायती गोर्खा सैनिक तथा विशेष फौजका सदस्यसमेत थिए । नेटफ्लिक्समा प्रदर्शन भएको ‘१४ पिक्स : नथिङ इज इम्पसिबल’ वृत्तचित्रमार्फत उनी विश्वभर परिचित बनेका थिए ।
निर्मल पुर्जा पछिल्ला वर्षहरूमा आफ्नै महत्वाकांक्षी ‘ह्याट्रिक प्रोजेक्ट’ अन्तर्गत ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल पुनः आरोहण गर्ने अभियानमा थिए । केही दिनअघि मात्रै उनले ग्यासरब्रुम-२ हिमाल सफलतापूर्वक आरोहण गरेका थिए र त्यसपछि ब्रोड पिक अभियानमा सहभागी भएका थिए। ब्रोड पिकपछि चो-ओयु हिमाल आरोहण सम्पन्न गर्न सके उनी नयाँ विश्व इतिहास रच्ने तयारीमा थिए ।
दुर्घटनामा ज्यान गुमाएका पुरबहादुर गुरुङ ‘युक्ता’ पनि विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको उपलब्धिनजिक पुगेका अनुभवी नेपाली आरोही थिए । उनले सगरमाथाको १० पटक सफल आरोहण गरिसकेका थिए भने अन्य हिमालहरूमा पनि उल्लेखनीय सफलता हासिल गरेका थिए ।
दुःखद घटनापछि नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसहित विभिन्न मुलुकका पर्वतारोहण संस्था, अन्तर्राष्ट्रिय आरोही समुदाय तथा विश्वभरका साहसिक खेलप्रेमीहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनीहरूले निर्मल पुर्जा र अन्य दिवंगत आरोहीहरूको साहस, समर्पण र योगदानलाई सदैव स्मरण गरिने बताएका छन् ।
समुद्र सतहबाट ८,०५१ मिटर उचाइमा रहेको ब्रोड पिक विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये १२औँ स्थानमा पर्छ । पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित यो हिमाल प्राविधिक रूपमा अत्यन्त कठिन र हिमपहिरोको उच्च जोखिम रहने हिमालका रूपमा परिचित छ । यस दुर्घटनाले विश्व पर्वतारोहण इतिहासमा अर्को ठूलो क्षति थपेको छ ।


