काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा साउन १० गते भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिलाई लिएर नेपाल सरकारले गम्भीर चासो व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिन, घाइतेहरूको निःशुल्क उपचार, पीडितलाई उचित क्षतिपूर्ति तथा दोषीमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा साउन १२ गते जारी गरिएको प्रेस विज्ञप्तिमा देवानगञ्जमा भएको घटनापछि पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा घटनाका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। साथै, घाइते भएका सर्वसाधारण तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
सरकारले घटनामा घाइते भएका सबै व्यक्तिको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइएको जनाएको छ । साथै, घटनाको वस्तुगत छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपायसहितको प्रतिवेदन सात दिनभित्र पेश गर्ने कार्यादेशसहित गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको र समितिले आफ्नो कामसमेत सुरु गरिसकेको जानकारी दिइएको छ ।
प्रेस विज्ञप्तिमा घटनाबाट प्रभावित पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराइने र घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता दोहोर्याइएको छ । सरकारका अनुसार कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा, झडप वा मुठभेडबाट सम्भव नहुने भएकाले सबै पक्षले कानुनी र शान्तिपूर्ण माध्यम अपनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
सरकारले नेपाली समाजको पहिचानका रूपमा रहेको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकतालाई कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ । धार्मिक तथा साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न नहुन, उत्तेजनात्मक अभिव्यक्ति नदिन, भ्रामक तथा अपुष्ट सूचना सामाजिक सञ्जाल वा अन्य माध्यमबाट नफैलाउन र त्यस्ता सूचनाको प्रभावमा नपरी उच्च संयमता अपनाउन सरकारको अपिल छ ।
विज्ञप्तिमार्फत वर्तमान परिस्थितिमा मुलुकभर शान्ति, सुरक्षा, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ-संस्था, आमसञ्चार माध्यम तथा सम्पूर्ण नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न नेपाल सरकारले हार्दिक आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले घटनाको निष्पक्ष अनुसन्धान सम्पन्न गरी कानुनी शासन, सामाजिक सद्भाव र सार्वजनिक शान्ति कायम गर्न आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।


