काठमाडौं । नेपालको हिमाली क्षेत्रबाट प्राप्त हुने प्राकृतिक सम्पदा शिलाजितलाई आधुनिक प्रविधिसँग संयोजन गर्दै भिटसिला फुड्स एन्ड बेभरेजेस प्रालिले ‘भिट शिला’ नामक शिलाजित मिसाइएको ऊर्जा पेय सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले आगामी २०८३ साल श्रावण १५ गते उक्त उत्पादनको औपचारिक शुभारम्भ गर्ने जनाएको छ ।
कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार भिट शिला नेपालको प्राकृतिक सम्पदालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने दीर्घकालीन उद्देश्यसहित विकास गरिएको उच्चस्तरीय ऊर्जा पेय हो । कम्पनीका अनुसार यसको वैज्ञानिक संयोजन बेलायतमा विकास गरिएको हो, जसमा आधुनिक पेय प्रविधि र हिमाली शिलाजितको परम्परागत महत्त्वलाई एउटै उत्पादनमा समेटिएको छ ।
प्रेस विज्ञप्तिमा शिलाजितलाई हिमालयका अग्ला पहाडी चट्टानबाट प्राकृतिक रूपमा प्राप्त हुने खनिजयुक्त पदार्थका रूपमा व्याख्या गरिएको छ । हजारौँ वर्षको प्राकृतिक प्रक्रियाबाट बन्ने शिलाजितलाई आयुर्वेदमा शरीरमा ऊर्जा, स्फूर्ति, रोगसँग लड्ने क्षमता वृद्धि तथा समग्र स्वास्थ्यका लागि उपयोगी प्राकृतिक स्रोतका रूपमा वर्णन गरिएको उल्लेख गरिएको छ । कम्पनीका अनुसार भिट शिला मा प्रयोग गरिएको शिलाजित गुणस्तर परीक्षण तथा शुद्धीकरण प्रक्रिया पूरा गरिएको उच्चस्तरीय हिमाली शिलाजित हो ।
कम्पनीले आफ्नो अध्ययन, अनुसन्धान तथा उपलब्ध व्यावसायिक जानकारीका आधारमा भिट शिला नेपालमै व्यावसायिक रूपमा उत्पादन तथा सार्वजनिक हुन लागेको पहिलो शिलाजित मिसाइएको ऊर्जा पेय भएको दाबी गरेको छ । साथै, हालसम्म कुनै पनि देशमा सरकारी स्वीकृतिसहित यस्तै प्रकारको ऊर्जा पेय व्यावसायिक रूपमा सार्वजनिक भएको आधिकारिक जानकारी प्राप्त नभएको कम्पनीले जनाएको छ । भविष्यमा त्यस्तो प्रमाणित जानकारी प्राप्त भए त्यसलाई सम्मानपूर्वक स्वीकार गर्ने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ ।
प्रेस विज्ञप्तिअनुसार भिटसिला फुड्स एन्ड बेभरेजेस प्रालि नेपाली उद्यमी नरेन्द्रबहादुर चन्द, विवेक सिटौला र कविन्द्र प्रसाईँको संयुक्त पहलमा स्थापना भएको हो । सूचना प्रविधि, सञ्चार, उत्पादन उद्योग तथा कृषि क्षेत्रमा प्राप्त अनुभवलाई समेट्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यका साथ भिट शिलाको विकास गरिएको कम्पनीले जनाएको छ ।
त्यसै गरी, कम्पनीले बेलायतस्थित भिटसिला युके लिमिटेडकी संस्थापक तथा सह-स्वामित्वकर्ता डा. हना अल्बन्नाले अन्तर्राष्ट्रिय व्यापार विस्तार, रणनीतिक योजना तथा विश्वव्यापी साझेदारीमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको जनाएको छ । कम्पनीले भिट शिलालाई केवल ऊर्जा पेयका रूपमा नभई नेपालको हिमाली शिलाजितलाई विश्व बजारमा परिचित गराउने राष्ट्रिय अभियानका रूपमा अघि बढाइएको जनाएको छ । हिमाली शिलाजितलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्ने, स्वस्थ, स्वच्छ र गुणस्तरीय ऊर्जा पेय उत्पादन गर्ने, नेपाली उत्पादनको निर्यात बढाउने, रोजगारी सिर्जना गर्ने, औद्योगिकीकरणलाई प्रोत्साहन गर्ने तथा ‘नेपालमा निर्मित’ उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने कम्पनीको उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार नेपालमा उत्पादन सार्वजनिक भएसँगै बेलायत, संयुक्त राज्य अमेरिका, युरोपेली मुलुक, मध्यपूर्व तथा अन्य अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने योजना बनाइएको छ । यसैअनुसार बेलायतको लन्डनमा कम्पनी दर्ता गरिसकिएको र आगामी तीन महिनाभित्र त्यहीँ उत्पादन सञ्चालन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका संस्थापकहरूले नेपालको प्राकृतिक सम्पदालाई विश्वव्यापी पहिचान दिलाउने लक्ष्यका साथ यो अभियान सुरु गरिएको बताएका छन् । उनीहरूका अनुसार भिट शिला केवल नयाँ ऊर्जा पेय मात्र नभई नेपालको हिमाली सम्पदालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने तथा ‘नेपालमा निर्मित’ उत्पादनको प्रतिष्ठा बढाउने अभियान हो ।
प्रेस विज्ञप्तिअनुसार कम्पनीले आगामी दिनमा नेपालभर बजार विस्तार गर्ने, बेलायत, अमेरिका, युरोप तथा मध्यपूर्वमा निर्यात सुरु गर्ने, बेलायतमा उत्पादन उद्योग स्थापना गर्ने तथा हिमाली शिलाजितमा आधारित थप स्वास्थ्यवर्द्धक पेय पदार्थ विकास गर्ने योजना बनाएको छ ।
यसैबिच, कम्पनीले रिलायबल फुड्स एन्ड बेभरेजेसका अध्यक्ष अशोककुमार शाहले उत्पादन विकास, प्राविधिक तयारी, उत्पादन सञ्चालन तथा गुणस्तर व्यवस्थापनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै विशेष आभार व्यक्त गरेको छ । कम्पनीका अनुसार शाहको अनुभव, प्राविधिक मार्गदर्शन र निरन्तर सहयोगले भिट शिलालाई सफलतापूर्वक उत्पादनको चरणसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।


