बेलबारी प्रहरीको नौ महिनाको समीक्षा : ठूला अपराध अनुसन्धानमा सफलता, सडक दुर्घटना र लागूऔषध चुनौती


बेलबारी, मोरङ । इलाका प्रहरी कार्यालय बेलबारीले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका कार्य, अपराध अनुसन्धानमा हासिल भएका उपलब्धि तथा आगामी कार्ययोजनाबारे जानकारी गराउने उद्देश्यले नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजीव गिरीले करिब नौ महिनाको कार्यकालमा भएका अनुसन्धान, अपराध नियन्त्रणका उपलब्धि र समुदायसँगको सहकार्यका योजनाबारे विस्तृत प्रस्तुति दिएका हुन् ।

बेलबारीमा आयोजित कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइराला प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवाल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, महिला अधिकारकर्मी, विभिन्न संघसंस्थाका पदाधिकारी, उद्योगी-व्यवसायी तथा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रहरी निरीक्षक गिरीले आफ्नो प्रस्तुतिमा आर्थिक वर्ष २०८२/०८३ मा इलाका प्रहरी कार्यालय बेलबारीले विभिन्न जघन्य तथा संगठित अपराधको अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गरेको दाबी गरे । उनका अनुसार, प्रहरीको सक्रिय अनुसन्धान, प्रमाण संकलन र सूचनाको प्रभावकारी उपयोगका कारण धेरै जटिल घटनाहरूको सफलतापूर्वक अनुसन्धान सम्पन्न भएको छ ।

प्रस्तुत विवरणअनुसार बेलबारी नगरपालिका-२, लालभित्ती सिंहदेवी टोलमा विषप्रयोगबाट एक महिलाको मृत्यु भएको घटनाको अनुसन्धान प्रहरीका लागि महत्त्वपूर्ण उपलब्धिमध्ये एक बनेको छ । प्रहरी निरीक्षक गिरीका अनुसार घटनास्थलको सूक्ष्म अनुसन्धानका क्रममा खाना पकाउने चुल्होमुनि मुसा मार्ने विषादीको खाली प्याकेट फेला परेको थियो । त्यसपछि मृतककी भतिजी बुहारी सुनिता कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानका क्रममा उनले विषादी प्रयोग गरेको स्वीकार गरेको र प्रयोगशालाको प्रतिवेदनले समेत घटनालाई पुष्टि गरेपछि मोरङ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको प्रहरीको भनाइ छ ।

त्यसै गरी, केराबारी क्षेत्रमा एम्बुलेन्समार्फत ठुलो परिमाणमा गाँजा ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले विशेष अपरेशन सञ्चालन गरेको थियो । सरकारी नम्बर प्लेट जडान गरिएको एम्बुलेन्सलाई रोक्न खोज्दा चालकले नरोकेपछि प्रहरीले हवाई फायर गरी सुरक्षा घेरा बनाएर नियन्त्रणमा लिएको थियो । चेकजाँचका क्रममा ५२१ दशमलव ५४ किलोग्राम गाँजा बरामद भएको र घटनामा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धानपछि अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार पठाइएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

यस्तै, सुन्दरहरैंचा नगरपालिका-२ बेलडाँगीमा गोप्य सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा ‘Made in USA’ लेखिएको अवैध पेस्तोल, दुई थान ह्यान्डसेट तथा अन्य सामग्री बरामद गरिएको थियो । घटनामा संलग्न दुई जनालाई पक्राउ गरी हतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान गरिएको जानकारी पनि कार्यक्रममा दिइयो ।

नागरिक सुनुवाइमा मानव बेचबिखनसम्बन्धी पुरानो घटनाको अनुसन्धानबारे पनि जानकारी गराइएको थियो । प्रहरीका अनुसार वैदेशिक रोजगारीका नाममा भारत हुँदै साउदी अरब पुर्‍याएर यौन शोषणमा पारिएको पीडित महिलाले दिएको जाहेरीका आधारमा अभियुक्तलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो। पीडितले भारतको मुम्बई र साउदी अरबमा अमानवीय शोषण सहनुपरेको बयान दिएपछि प्रमाण संकलन गरी मुद्दा अघि बढाइएको र अदालतले अभियुक्तलाई पुर्पक्षका लागि कारागार पठाएको प्रहरीको भनाइ छ ।

प्रहरी निरीक्षक गिरीले जुवातास नियन्त्रण अभियान पनि प्रभावकारी बनेको बताए । उनका अनुसार ग्रामथान गाउँपालिका-४ स्थित जुरीखोला क्षेत्रमा सञ्चालन गरिएको विशेष अपरेशनमा तीन लाख १३ हजार रुपैयाँभन्दा बढी नगदसहित पाँच जना पक्राउ परेका थिए । उनीहरूमाथि आवश्यक अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिइयो ।

त्यस्तै, नक्कली सुनको टिल देखाएर वृद्धवृद्धालाई ठगी गर्ने गिरोहका एक सदस्य धकलबहादुर थिङलाई पक्राउ गरी अनुसन्धान भइरहेको र उक्त गिरोहको सञ्जाल झापा, मोरङ, इलाम, धनकुटा, सुनसरी तथा रुपन्देहीसम्म फैलिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक गिरीले बताए ।

लागुऔषध नियन्त्रणतर्फ पनि इलाका प्रहरी कार्यालय बेलबारीले महत्त्वपूर्ण सफलता हासिल गरेको दाबी गरिएको छ । केराबारीस्थित एक मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित औषधि बिक्री भइरहेको सूचनाका आधारमा गरिएको छापामार कारबाहीमा ट्रामाडोलका ४ हजार ४६० क्याप्सुल र डिकोलिकका ४ हजार ४६० ट्याब्लेट बरामद गरिएको थियो । मेडिकल सञ्चालकलाई पक्राउ गरी अनुसन्धानपछि अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।

नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी निरीक्षक गिरीले आगामी दिनमा इलाका प्रहरी कार्यालय बेलबारीले सामना गर्नुपर्ने मुख्य चुनौतीबारे पनि स्पष्ट रूपमा धारणा राखे । उनका अनुसार सडक दुर्घटना, लागूऔषध दुर्व्यसन, आत्महत्या, बैंक तथा सुनचाँदी पसलमा हुने चोरी, बालविवाह, बहुविवाह, महिला हिंसा, यौनजन्य हिंसा तथा खोलानालाबाट हुने अवैध चोरी-तस्करी अहिलेका प्रमुख सुरक्षा चुनौती बनेका छन् । यी समस्या नियन्त्रण गर्न प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भएकाले स्थानीय सरकार, समुदाय र नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको उनले बताए ।

यिनै चुनौतीलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय बेलबारीले तत्काल कार्यान्वयन गर्नुपर्ने योजनासमेत सार्वजनिक गरेको छ । प्रहरी निरीक्षक गिरीका अनुसार बेलबारी नगरभित्रका भित्री क्षेत्रसम्म आधुनिक सीसीटीभी सञ्जाल विस्तार, सडकबत्तीको प्रभावकारी व्यवस्थापन, ट्राफिक सचेतना बोर्ड स्थापना, विद्यालय तथा कलेज केन्द्रित व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन, वडा तहमा ‘इभिनिङ वाक’ समूह र लागूऔषधविरुद्ध आमा समूह गठन गरी समुदायबाटै निगरानी बढाउने योजना रहेको छ । साथै, सडक दुर्घटना न्यूनीकरणका लागि व्यापक अभियान सञ्चालन, दुर्व्यसनविरुद्ध चारवटै स्थानीय तहमा पालिकास्तरीय समिति गठन गरी वडा तहसम्म परिचालन गर्ने तथा अपराधमा संलग्न व्यक्ति र समूहको निगरानीका लागि सूचना संकलन प्रणालीलाई अझ प्रभावकारी बनाइने उनले जानकारी दिए ।

कार्यक्रममा सहभागी स्थानीयवासी तथा सरोकारवालाहरूले प्रहरीले सार्वजनिक रूपमा आफ्नो कार्यसम्पादन प्रस्तुत गरी नागरिकको सुझाव सुन्ने अभ्यासलाई सकारात्मक कदमको रूपमा लिएका थिए । उनीहरूले समुदाय-प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउन नियमित नागरिक सुनुवाइ, सूचना आदान-प्रदान र जनसहभागितामूलक सुरक्षा अभियानलाई निरन्तरता दिन सुझाव दिएका थिए ।

कार्यक्रमको अन्त्यमा प्रहरी निरीक्षक राजीव गिरीले इलाका प्रहरी कार्यालय बेलबारीले अपराध अनुसन्धान र नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरे पनि दिगो शान्ति र सुरक्षित समाज निर्माणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै स्थानीय सरकार, जनप्रतिनिधि, सामाजिक संघसंस्था, सञ्चारमाध्यम तथा आमनागरिक सबैको साझा सहकार्य आवश्यक रहेको बताए । उनले नागरिकबाट प्राप्त सुझावलाई आगामी कार्ययोजनामा समेट्दै अझ उत्तरदायी, पारदर्शी र समुदायमैत्री प्रहरी सेवा प्रवाहमा कार्यालय प्रतिबद्ध रहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्