६ लाख प्रथम र ३ लाख दोस्रो पुरस्कारसहित अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप असोज १७ देखि

१० टोलीबिच उपाधिको प्रतिस्पर्धा : ५० हजार दर्शक भित्र्याउने लक्ष्य, खेलसँगै रंगशाला निर्माण र युवा विकासलाई प्राथमिकता


पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे आगामी असोजमा फेरि एक पटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलको केन्द्र बन्ने भएको छ । पथरी-११ फुटबल क्लबको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप-२०८३ आगामी असोज १७ गतेदेखि २६ गतेसम्म पथरीशनिश्चरे-१ स्थित जाँते मोडको प्रस्तावित पथरी रंगशालामा सञ्चालन हुने भएको हो । यस पटक प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँ र उपविजेताले नगद ३ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

क्लबका अध्यक्ष सुमन विकका अनुसार तेस्रो संस्करणलाई भव्य र प्रतिस्पर्धात्मक बनाउने तयारी भइरहेको छ । उनले पुरस्कार राशिमा उल्लेखनीय वृद्धि गर्दै प्रतियोगितालाई अझ आकर्षक बनाइएको जानकारी दिए । दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण इन्ट्रा पथरीशनिश्चरे गोल्डकप-२०८२ मा विजेताले नगद ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । अध्यक्ष सुमन विकका अनुसार प्रतियोगिताले उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, विधागत उत्कृष्ट खेलाडी तथा म्यान अफ द म्याचलाई पनि नगदसहित सम्मान गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिनेछ ।

आयोजकका अनुसार प्रतियोगितामा आयोजक टोलीसहित नेपालका ‘ए’ डिभिजन क्लब, मोफसलका चर्चित क्लब तथा भारतका क्लब गरी १० टोली सहभागी हुनेछन् । प्रतियोगितामा करिब २०० खेलाडी र ४० जना टोली व्यवस्थापनका प्रतिनिधि प्रत्यक्ष सहभागी हुनेछन् भने मोरङ, झापा, सुनसरीलगायत आसपासका जिल्लाबाट करिब ५० हजार दर्शक मैदानमा पुग्ने अनुमान गरिएको छ ।

पथरी-११ फुटबल क्लबले प्रतियोगितालाई केवल फुटबल प्रतिस्पर्धामा सीमित नराखी खेल पूर्वाधार विकास, युवा सशक्तीकरण र सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियानका रूपमा अघि बढाएको जनाएको छ । क्लबले स्थापना कालदेखि नै पथरीशनिश्चरेको उत्तरी क्षेत्रमा रहेको खेल मैदानलाई प्याराफिटसहितको व्यवस्थित रंगशालाका रूपमा विकास गर्ने लक्ष्य राख्दै आएको छ । प्रतियोगिताबाट बचत हुने रकम खेल मैदानको स्तरोन्नति, मर्मतसम्भार तथा पूर्वाधार निर्माणमा खर्च गरिने क्लबले जनाएको छ ।

क्लबका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य युवालाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ, अनुशासित र नेतृत्वदायी जनशक्ति तयार गर्नु, लागूऔषध तथा अन्य दुर्व्यसनबाट टाढा राख्नु, स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्‍याउनु तथा खेलाडीलाई व्यावसायिक फुटबलतर्फ प्रेरित गर्नु हो । साथै, स्थानीय खेलाडीलाई प्राथमिकता दिँदै उनीहरूको विदेश पलायन न्यूनीकरण गर्ने, खेलकुदमार्फत सामाजिक, शैक्षिक तथा आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्ने लक्ष्य पनि प्रतियोगिताले लिएको छ ।

दोस्रो संस्करणमा क्लबले मीनबहादुर धिमाललाई ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषणा गर्दै नगद २५ हजार रुपैयाँ सहित सम्मान गरेको थियो । त्यसै गरी राष्ट्रिय महिला टोलीकी खेलाडी दीपा न्यौपानेलाई १५ हजार रुपैयाँसहित सम्मान, समीर क्षेत्रीलाई ‘उदयमान खेलाडी’ घोषणा गर्दै नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो । क्यान्सरबाट पीडित फुटबल खेलाडी सनम विकलाई उपचार सहयोग स्वरूप आर्थिक सहायता प्रदान गरेर क्लबले खेलकुदसँगै सामाजिक उत्तरदायित्व पनि निर्वाह गरेको थियो ।

खेल सञ्चालनका लागि फिफा तथा एन्फा मान्यताप्राप्त रेफ्री र सहायक रेफ्री परिचालन गरिने अध्यक्ष सुमन विकले बताए ।उनले प्रतियोगिता सफल बनाउन स्थानीय सरकार, सरकारी निकाय, निजी क्षेत्र, व्यापारिक प्रतिष्ठान, विद्यालय, सामाजिक संघसंस्था, स्वदेश तथा विदेशमा रहेका शुभेच्छुक तथा सम्पूर्ण खेल प्रेमीलाई आर्थिक, नैतिक र भौतिक सहयोगका लागि आग्रह गरेका छन् । उनका अनुसार पथरीशनिश्चरे गोल्डकपलाई पूर्वी नेपालको प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा स्थापित गर्दै आगामी वर्षहरूमा अझ सशक्त रूपमा निरन्तरता दिइने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्