सुकुना माविमा छात्रामाथि दुर्व्यवहारको आरोप : दुई शिक्षक र एक सवारी चालक पक्राउ, अनुसन्धान तीव्र


विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विद्यालयका दुई शिक्षक र एक सवारी चालकलाई पक्राउ गरी विस्तृत अनुसन्धान सुरु गरेको छ । घटनापछि विद्यालयमा विद्यार्थी र अभिभावक आक्रोशित बनेका छन् भने सुन्दरहरैँचा नगरपालिकाले आरोपितहरूलाई तत्काल निलम्बन गरी कानुनी प्रक्रिया अघि बढाउन विद्यालय व्यवस्थापनलाई निर्देशन दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार बिहान करिब १० बजे विद्यालयका सवारी चालक ४० वर्षीय प्रदीप भट्टराई, ३० वर्षीय शिक्षक किशोरलाल गच्छदार र ३५ वर्षीय शिक्षक अबिरल मास्केलाई नियन्त्रणमा लिइएको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार विद्यालयका केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत तथा अशोभनीय सन्देश पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन तथा प्रलोभन देखाउने र अमर्यादित व्यवहार गरेको भन्ने उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा उनीहरूको संलग्नता देखिएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीले घटनाको अनुसन्धानलाई यौनजन्य दुर्व्यवहारको सम्भावनासमेत मध्यनजर गर्दै थप फराकिलो बनाएको जनाएको छ । डीएसपी मिश्रका अनुसार घटनाको वास्तविक प्रकृति, आरोपको सत्यता तथा प्रत्येक व्यक्तिको भूमिकाबारे अन्तिम निष्कर्ष अनुसन्धान सम्पन्न भएपछि मात्रै सार्वजनिक गरिनेछ। अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता पुष्टि भए उनीहरूमाथि पनि प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने प्रहरीले स्पष्ट पारेको छ ।

घटनाको जानकारी सार्वजनिक भएपछि विद्यालयका विद्यार्थी र अभिभावकहरू आक्रोशित बनेका छन् । विद्यार्थीहरूले शिक्षकविरुद्ध विरोध प्रदर्शनको तयारी गरेपछि सम्भावित अप्रिय अवस्था रोक्न विद्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । अभिभावकहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

यस घटनाप्रति सुन्दरहरैँचा नगरपालिकाले पनि गम्भीर चासो व्यक्त गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले विद्यालय व्यवस्थापनलाई पत्राचार गर्दै आरोप लागेका शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी निष्पक्ष छानबिन तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

नगरपालिकाले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका आरोपलाई अत्यन्त गम्भीर र खेदजनक विषयका रूपमा लिँदै विद्यालय व्यवस्थापनलाई अनुसन्धानमा पूर्ण सहयोग गर्न, दोषी देखिए कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्न तथा गरिएको कारबाहीको विवरण नगरपालिकामा उपलब्ध गराउनसमेत निर्देशन दिएको छ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान प्रभावित हुने गरी सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक वा तथ्यहीन सामग्री प्रचार-प्रसार नगर्न सबैसँग आग्रह गरेको छ । प्रहरीका अनुसार प्रमाण, तथ्य र अनुसन्धानका आधारमा दोषी ठहर हुने जोसुकैमाथि कानुनबमोजिम कारबाही गरिनेछ भने निर्दोष व्यक्तिको अधिकारसमेत संरक्षण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्