बेलबारीमा एमालेको ‘मिसन : पार्टी जागरण’ अभियान तीव्र


बेलबारी, मोरङ । नेकपा (एमाले) ले पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र जनतामाझ प्रभावकारी बनाउने उद्देश्यका साथ सञ्चालन गरेको ‘मिसन : पार्टी जागरण’ अभियान अन्तर्गत बेलबारी नगरपालिकाका वडा कमिटीहरूमा शृङ्खलाबद्ध बैठक सम्पन्न गरेको छ । एमालेको २०८३ जेठ ४, ८, ९ र १० गते काठमाडौँमा सम्पन्न सचिवालयको आठौँ बैठकले पारित गरेको निर्णयअनुसार बेलबारी नगर कमिटीले अभियानलाई स्थानीय तहसम्म विस्तार गर्दै प्रारम्भिक चरणमा वडा कमिटीका बैठकहरू आयोजना गरेको हो ।

अभियानको शुभारम्भ असार २६ गते बिहान बेलबारी-११ स्थित लक्ष्मीमार्गबाट गरिएको थियो । अभियानका केन्द्रीय प्रतिनिधि (सहजकर्ता) इरान राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भइरहेको छ । वडा कमिटी अध्यक्ष सुजय गौतमको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश सचिवालय सदस्य तथा बेलबारी इन्चार्ज एवं प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी पनि सहभागी भएका थिए । कार्यक्रममा जिल्ला कमिटी सचिवालयका पदाधिकारी, नगर कमिटीका नेतृत्व, वडा कमिटीका पदाधिकारी तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।

अभियानका क्रममा प्रदेश सचिवालय सदस्य तथा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, बेलबारी नगर कमिटीका अध्यक्ष शङ्कर गुरुङ, प्रदेश कमिटी, जिल्ला कमिटी तथा नगर कमिटीका पदाधिकारी एवं सदस्यहरूको निरन्तर सक्रिय सहभागिता रहेको अभियानका केन्द्रीय प्रतिनिधि (सहजकर्ता) इरान राईले जानकारी दिएका छन् ।

यस क्रममा असार २६ गते नै बेलबारी-१ को पार्टी कार्यालयमा वडा कमिटीको बैठक सम्पन्न भयो । वडा अध्यक्ष धर्मराज मगरको अध्यक्षतामा सम्पन्न भएको हो । असार २७ गते बेलबारी-६ को सोमबारेमा वडा नं. ६ को बैठक सम्पन्न भएको थियो । पुष्कर शर्मा जमरकटेलको अध्यक्षतामा सम्पन्न भएको हो । सोही दिन कैलाशेश्वर मन्दिर परिसरमा आयोजित वडा नं. ५ को बैठकमा अध्यक्ष ईश्वर गिरीको अध्यक्षता रहेको थियो ।

असार २७ कै अपराह्न बेलबारी-२ को लालभित्तीस्थित रमिते सभाहलमा वडा नं. २ को बैठक सम्पन्न भएको थियो । राजु परियारको अध्यक्षतामा सम्पन्न भएको हो । असार २८ गते बिहान बेलबारी-३ को करमडाँडास्थित राधाकृष्ण मन्दिरमा वडा कमिटीको बैठक सम्पन्न भयो । मञ्जु रायमाझीको अध्यक्षतामा सम्पन्न भएको हो ।

त्यसै दिन दिउँसो बेलबारी-४ स्थित वडा पार्टी कार्यालय, बुधबारे बजारमा वडा नं. ४ को बैठक सम्पन्न भएको थियो । सुजितकुमार राईको अध्यक्षतामा सम्पन्न भएको हो । असार २८ गते अपराह्न बेलबारी-१० को चाँदनीचोकस्थित शक्ति सनातन मन्दिरमा वडा नं. १० को बैठक सम्पन्न भयो । ताराहाङ राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैठकहरूमा सहभागी नेताहरूले पार्टीलाई जनस्तरसँग थप नजिक लैजान, संगठनलाई गतिशील बनाउन, सदस्यहरूको सक्रियता बढाउन तथा आगामी राजनीतिक कार्यदिशालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ‘मिसन : पार्टी जागरण’ अभियान महत्त्वपूर्ण हुने बताएका थिए । अभियानमार्फत वडा तहदेखि नै संगठनात्मक सुदृढीकरण, कार्यकर्ता परिचालन, जनसम्पर्क विस्तार र पार्टीप्रतिको जनविश्वास अझ मजबुत बनाउने लक्ष्य लिइएको छ ।

यस अभियानमा इरन राईले ‘मिसन : पार्टी जागरण’ अभियान-२०८३ का केन्द्रीय प्रतिनिधि (सहजकर्ता) का रूपमा सबै बैठकमा सहभागी भई अभियानको उद्देश्य, संगठन सुदृढीकरण र पार्टीको आगामी कार्ययोजनाबारे सहजीकरण गरिरहेका छन् । एमाले बेलबारी नगर कमिटीका अनुसार प्रारम्भिक चरणका वडा बैठक सम्पन्न भइसकेका छन् भने अभियानलाई आगामी दिनमा टोल, जनवर्गीय संगठन र आम नागरिकसम्म विस्तार गर्दै पार्टी जागरणलाई थप प्रभावकारी बनाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्