ई यालाङ सेकुवा हब सञ्चालनमा : बेलबारीमा स्वादसँगै पर्यटन प्रवर्द्धनको नयाँ गन्तव्य थपियो


बेलबारी, असार २६ । मोरङको बेलबारी नगरपालिका-३ स्थित मालपोत लाइनमा आधुनिक तथा मौलिक शैलीमा निर्माण गरिएको ‘ई यालाङ सेकुवा हब’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । शुक्रबार आयोजित एक समारोहबीच बेलबारी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सन्दीप राईले रिबन काटेर होटलको उद्घाटन गरेका हुन् ।

स्थानीय स्वाद, मौलिक परिकार र आकर्षक वातावरणलाई प्राथमिकतामा राखेर स्थापना गरिएको ‘ई यालाङ सेकुवा हब’ले बेलबारीको आतिथ्य तथा खानपान व्यवसायमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । होटलको भित्री सजावट परम्परागत र आधुनिक शैलीको सुन्दर संयोजनमा तयार गरिएको छ भने ग्राहकको सहजता, आराम र पारिवारिक वातावरणलाई विशेष ध्यानमा राखेर संरचना निर्माण गरिएको सञ्चालक पक्षले जनाएको छ ।

होटल पदक लिम्बु र उनकी श्रीमती इन्द्रता लिम्बुको संयुक्त पहलमा सञ्चालनमा ल्याइएको हो । स्थानीय उत्पादन, स्वादिष्ट सेकुवा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्यसहित सञ्चालनमा आएको यस होटलले पारिवारिक भेटघाटदेखि विभिन्न सामाजिक कार्यक्रमका लागि समेत उपयुक्त वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै बेलबारी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सन्दीप राईले नयाँ व्यवसायको सुरुवातले स्थानीय आर्थिक गतिविधि चलायमान बनाउने विश्वास व्यक्त गरे । उनले यस्ता व्यवसायले रोजगारीका अवसर सिर्जना गर्नुका साथै बेलबारीको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने बताए ।

राईले निजी क्षेत्रको लगानी नै स्थानीय आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै उद्यमशील युवालाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले ई यालाङ सेकुवा हबको सफल सञ्चालनका लागि बेलबारी उद्योग वाणिज्य संघको तर्फबाट आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्