काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा ३० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएपछि देशका अधिकांश निजी पेट्रोल पम्प बन्द भएका छन् ।
पम्प सञ्चालकहरूले महँगो मूल्यमा खरिद गरेको इन्धन सस्तोमा बिक्री गर्दा घाटा हुने भन्दै सेवा बन्द गरेका हुन् । पम्प बन्द भएपछि उपभोक्ताहरू साझा, नेपाल प्रहरी र नेपाली सेनाद्वारा सञ्चालित पेट्रोल पम्पमा लामो लाइन लाग्न बाध्य भएका छन् ।
यसैबिच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमले इन्धन मौज्दात हुँदाहुँदै बिक्री नगरी पम्प बन्द गर्ने व्यवसायीमाथि अनुगमन तीव्र बनाएको छ । निगमले त्यस्ता पम्पलाई सिल गरी कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि निगमले बुधवार रातिदेखि नयाँ मूल्य लागू गरेको हो ।


