फाइनलमा आर.टी. धरान र सलहेश युवा क्लब सिराहा भिड्दै : सुन्दरहरैँचामा फुटबलको माहौल उत्कर्षमा


सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता २०८३ अब उपाधि भिडन्तको चरणमा पुगेको छ । प्रतियोगिताको बहुप्रतीक्षित फाइनल खेलमा आर.टी. धरान फुटबल क्लब, सुनसरी र सलहेश युवा क्लब, सिराहाबिच प्रतिस्पर्धा हुने भएको छ ।

सुन्दरहरैँचा नगरपालिका वडा नं. १० स्थित सुकुना खेल मैदानमा जेठ २ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल शनिवार हुँदै छ । लगातार रोमाञ्चक खेलहरू हुँदै आएको प्रतियोगिताको फाइनल खेलको उपाधि कस्ले चुम्ने हो शनिवार निर्णय हुने छ ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सलहेश युवा क्लब, सिराहाले आयोजक टोली सुन्दर खोर्सानी युवा क्लब, मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सिराहाले उत्कृष्ट आक्रमणात्मक खेल प्रदर्शन गर्दै आयोजक टोलीको चुनौती पन्छाएको हो ।

त्यसअघि बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर.टी. फुटबल क्लब, धरानले सतिसाले स्पोर्टिङ क्लब, मोरङलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि नजिकको यात्रा तय गरेको थियो । धरानले दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै सहज जित निकाल्न सफल भएको थियो ।

प्रतियोगितामा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेकाले उपाधि भिडन्त अत्यन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ । आक्रमण र रक्षात्मक दुवै पक्षमा बलिया देखिएका धरान र सिराहाबिचको प्रतिस्पर्धाले दर्शकलाई उच्चस्तरीय फुटबलको अनुभूति गराउने विश्वास आयोजकको छ ।

सुन्दर खोर्साने युवा क्लबका अध्यक्ष काजीहाङ लिम्बुका अनुसार प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई अवसर प्रदान गर्नुका साथै राष्ट्रिय स्तरका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गरेको उनले बताए ।

प्रतियोगिताको विजेताले नगद रु. २ लाख तथा उपविजेताले रु. १ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । अध्यक्ष लिम्बुले फाइनल खेलमा सम्पूर्ण खेलप्रेमी, स्थानीयवासी तथा फुटबल समर्थकहरूलाई मैदानमा उपस्थित भई खेलाडीहरूको उत्साह बढाइदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्