बेलबारी, मोरङ । मोरङका अग्रज संस्कृतिकर्मी तथा प्रगतिशील लेखक यज्ञराज सुवेदी ‘सुसेली’को नवीनतम कृति ‘मनदेखि मनसम्म’ कवितासङ्ग्रह सार्वजनिक गरिएको छ । प्रगतिशील साहित्यिक चेतना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई समेटिएको उक्त कृतिको सार्वजनिक कार्यक्रम साहित्यिक तथा वैचारिक वातावरणबिच सम्पन्न भएको हो ।

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा-१२, मोरङको सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष डा. देवी दुलाल क्षेत्रीले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि क्षेत्रीलगायत विशिष्ट अतिथिहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।
प्रमुख अतिथि डा. क्षेत्रीले प्रलेस पहिलो अहिले बढी सक्रिय भइरहेको छ । त्यसर्थ नियमित कार्यक्रमदेखि थप वैचारिक प्रशिक्षणमार्फत युवा पुस्तालाई सङ्गठित गर्नुपर्दछ भन्ने निर्देशन गर्नुभयो ।
डा. दीपक न्यौपानेले लोकार्पित कृतिको समीक्षा गर्दै प्रगतिशील लेखनमा केही सरलता र तरलता हुन्छ, केही आग्रह हुन्छ; ती कुराहरू यो कृतिमा पनि भएको बताउनुभयो । शास्त्रीय छन्दमा केही जटिलता हुन्छ, यहाँ पनि केही जटिलताहरू छन् । केही कमीकमजोरीको बाबजुद कृति पठनयोग्य रहेको बताउनुभयो ।
बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले कृतिकार सुसेलीको व्यक्तित्वका बारेमा बताउनुभयो ।
कृतिकार सुसेलीले आफ्नो कृतिमा केही कमीकमजोरी भए तापनि, कतिपय त्रृटी रहे तापनि मलाई छन्द कविता फाल्न नसकेको बताउँदै ‘पूर्वको ज्योति’, ’छहरा, पहरा नेपाल’ र ’बालमन’ शीर्षकको कविता वाचन गर्नुभयो ।
बिन्दु दाहाल मूकदर्शकले प्रगतिशील लेखकहरू सङ्घमा आबद्ध भए पनि, नभए पनि समाजका लागि, देशका लागि लेखिरहनुपर्दछ; स्वार्थी बन्नु हुँदैन । हतारमा कृति प्रकाशित गरेर सङ्ख्या थप्नुभन्दा अघिल्लोभन्दा पछिल्लो कृति बढी सशक्त हुनुपर्ने सुझाव दिँदै ‘बेतना बेलबारी’ वाचन गर्नुभयो ।
भरत गुरागाईँ बर्बरिकले ‘मनदेखि मनसम्म’, हेमसागर पोखरेलले ‘सहिद भए’, तिला लेकालीले ‘नेपाल पारौँ नयाँ’ र खगेन्द्र घिमिरेले ‘सहिदलाई’ शीर्षकका कृतिभित्रका कविताहरू वाचन गर्नुभयो ।
प्रलेस, सुनसरीकी अध्यक्ष विमला पोखरेलले माओवादी युद्धताकाको गीत ‘यो शरीर ढल्यो साथी हो’ गीतको बोलमा आकर्षक नृत्य प्रस्तुत गर्नुभयो ।

प्राज्ञ खेम नेपालीले हाम्रा पुरातन सोच, पश्चगामी व्यवहारका कारणले गर्दा अहिले देशमा कम्युनिस्ट पार्टीहरू कमजोर भएका छन् । त्यसर्थ हामीले अग्रगामी सोच, योजना र जनमुखी व्यवहार अपनाउनुपर्ने सुझाव दिनुभयो ।
प्रा. डा. हरिहर भण्डारीले राजनैतिक दलहरू दह्रो हुँदा प्रलेस अलिक टाढा हुनुपर्छ तर जब देशमा कम्युनिस्ट पार्टीहरू कमजोर हुन्छन् तब प्रलेस सशक्त बन्नुपर्छ भन्ने सुझाव दिनुभयो ।
कार्यक्रममा साहित्यकारहरू ईरानराई, दीप मङ्ग्राती, धनजित पराजुली, भवानीप्रसाद पोखरेल, केशु विरही, नवराज पोखरेल नवशिला, भीम कोइराला, पूर्वाञ्चल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, पूर्व मोरङ जिल्ला अध्यक्षहरू मीनराज ढकाल (प्रथम अध्यक्ष, २०३७-२०३९), एकराज भट्टराई (२०५२-२०५५ दुई कार्यकाल) र मोहन काफ्ले (२०५९-२०६१), सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, पूर्व क्याम्पस प्रमुखहरू प्रेमप्रसाद भट्टराई र चन्द्रमणि राई हुनुहुन्थ्यो ।
‘मनदेखि मनसम्म’ कृतिमा ५३ ओटा कविताहरू सङ्गृहीत छन् । कृतिकार सुवेदीका ‘रमेश खै’ (संक्षिप्त जीवनी), ‘यिनैको सम्झनामा’ (लामो कविता), ‘गोपाल बाबा’ (शोक काव्य) र ‘जिन्दाबाद’ (कथासङ्ग्रह) प्रकाशित भइसकेका छन् । कार्यक्रम मोरङ सचिव नानुमाया दाहालले सञ्चालन र जिल्ला सदस्य दुर्गा खरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।


