पूर्व विद्यार्थीको भावनात्मक योगदान : सुकुना माविमा २ लाख २२ हजारको अक्षय कोष स्थापना


मोरङ । विद्यालय केवल पढाइ हुने स्थान मात्र होइन, जीवनका असंख्य सम्झना, संघर्ष, मित्रता र सपनाहरूको आधारभूमि पनि हो । यही भावनालाई आत्मसात् गर्दै सुकुना माध्यमिक विद्यालय का एसएलसी ब्याच २०७० का पूर्व विद्यार्थीहरूले आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरूको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले रु. २ लाख २२ हजार बराबरको “अक्षय कोष” स्थापनाका लागि विद्यालयलाई रकम हस्तान्तरण गरेका छन् ।


पूर्व विद्यार्थीहरूको सामूहिक पहलमा स्थापना गरिएको उक्त कोषले आगामी दिनमा आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनसक्ने विद्यार्थीहरूलाई सहयोग पुग्ने विश्वास गरिएको छ । विद्यालयप्रति सम्मान, कृतज्ञता र भावनात्मक सम्बन्धलाई जीवित राख्ने उद्देश्यसहित गरिएको यस कार्यलाई विद्यालय परिवारले प्रेरणादायी उदाहरणका रूपमा लिएको छ ।


उनीहरूले यही विद्यालयको आँगनमा हुर्किएको, सिकेको, लडेको, उठेको र भविष्यका सपना देख्न सिकेको उल्लेख गर्दै विद्यालयप्रति सानो योगदान गर्न पाउँदा गर्व महसुस भएको बताएका छन् । पूर्व विद्यार्थीहरूको भनाइमा, “हामीले यही विद्यालयबाट शिक्षा मात्र होइन, संस्कार, प्रेरणा र जीवनका महत्त्वपूर्ण पाठ सिकेका हौँ । आज सानो प्रयासमार्फत विद्यालय र आगामी पुस्ताप्रति केही जिम्मेवारी पूरा गर्न पाएको अनुभूति विशेष बनेको छ ।”


उनीहरूले यो अभियान सफल बनाउन साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण साथीहरू, शिक्षकवर्ग तथा विद्यालय परिवारप्रति आभार व्यक्त गरेका छन् । साथै आगामी दिनमा यस अक्षय कोषलाई अझ विस्तार र सुदृढ बनाउँदै थप ठुलो र दीर्घकालीन शैक्षिक सहयोगको अभियान सञ्चालन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।


पूर्व विद्यार्थीहरूले यस अभियानले केवल आर्थिक सहयोग मात्र नभई वर्षौँदेखि देश-विदेशमा छरिएर रहेका पुराना साथीहरूलाई पुनः जोड्ने अवसरसमेत प्रदान गरेको बताएका छन् । जीवनका विभिन्न यात्रामा व्यस्त बनेका साथीहरूसँग फेरि सम्झना साट्ने, सम्बन्ध पुनः सुदृढ बनाउने र विद्यालयसँगको आत्मीय सम्बन्धलाई पुनर्जीवित गर्ने अवसर मिलेको उनीहरू बताउछन् ।

प्रतिक्रिया दिनुहोस्