ललितपुर । नमुना कलेज अफ फेशन टेक्नोलोजी द्वारा आयोजित २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” सिर्जना, कल्पना र कलात्मक अभिव्यक्तिको एक भव्य उत्सवका रूपमा सम्पन्न भएको छ । शनिवार द प्लाजा नेपाल मा आयोजित कार्यक्रममा प्रकृति र फेसनबिचको अन्तरसम्बन्धलाई कथात्मक शैलीमा प्रस्तुत गर्दै रनवेलाई जीवन्त कलात्मक मञ्चमा रूपान्तरण गरिएको थियो ।

फेशन डिजाइनिङ अध्ययन पूरा गर्न लागेका ६२ जना विद्यार्थी डिजाइनरहरूको सहभागितामा सम्पन्न कार्यक्रममा नेपालको भौगोलिक विविधता, जैविक सम्पदा तथा प्राकृतिक सौन्दर्यलाई समकालीन फेसनमार्फत अभिव्यक्त गर्ने छ वटा अवधारणामूलक सङ्ग्रहहरू प्रस्तुत गरिएका थिए । “विविधायन सौन्दर्यम्” अर्थात् विविधताभित्रको सौन्दर्य भन्ने मूल विचारले सम्पूर्ण प्रस्तुतिको दार्शनिक आधार तयार पारेको थियो, जहाँ वन, हिमाल, सिमसार, वन्यजन्तु र पुष्पीय संसारका विविध रूपहरू फेसन कथामा रूपान्तरण भएका थिए ।
कार्यक्रमको औपचारिक उद्घाटन कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर ले रनवेमा उपस्थित भई गरिन् । कार्यक्रमको कोरियोग्राफी चर्चित फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्य ले गरेका थिए, जसले प्रत्येक सङ्ग्रहलाई दृश्यात्मक रूपमा प्रभावकारी र सशक्त बनाएको देखिन्थ्यो । कार्यक्रममा व्यावसायिक मोडल तथा विद्यार्थी गरी ३२ जना मोडलहरूले डिजाइनरहरूको सिर्जनालाई आकर्षक ढंगले प्रस्तुत गरेका थिए ।

साँझको पहिलो संग्रह “नेपालियमः ह्वेयर आइस फाइन्ड्स इट्स फ्लो” ले हिमनदी र जलप्रवाहबिचको सम्बन्धलाई कलात्मक रूपमा व्याख्या गरेको थियो । संरचित आकृतिबाट सुरु भई तरल र प्रवाहमय सिल्हुएटमा रूपान्तरण हुने डिजाइनहरूले प्रकृतिको परिवर्तनशीलता झल्काएका थिए । त्यसपछि प्रस्तुत “इरिडेसन्ट शेल्सः आर्मर सफ्टेन्ड बाइ एलेगेन्स” ले भृंगाहरूको बाहिरी संरचनाबाट प्रेरणा लिँदै शक्ति र सौन्दर्यबिचको सन्तुलन देखायो ।
“आवरण मृत्तिका: बिनिथ, बियोन्ड, बिकमिङ” संग्रहले माटोभित्रको जीवनचक्र र पुनर्जन्मको प्रतीकात्मक कथा प्रस्तुत गर्यो भने “एभियोराः विङ्स अफ द हिमालय” ले हिमाली परिवेशबाट प्रेरित उडान, स्वतन्त्रता र आकांक्षाको भावलाई सजीव बनायो । पर्यावरणीय चेतनामा केन्द्रित “रेड लिस्ट रिभेरी” संग्रहले संकटग्रस्त वन्यजन्तु-हिमचितुवा, रातो पाण्डा र घडियालको संरक्षण सन्देशलाई शक्तिशाली ढंगले प्रस्तुत गर्यो । कार्यक्रमको अन्तिम संग्रह “वनस्पति कुसुमः फरेस्ट ब्लुम्स अफ नेपाल” ले नेपालको पुष्पीय विविधतालाई काव्यात्मक सौन्दर्यमा रूपान्तरण गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।
हरेक संग्रहको अन्त्यमा प्रस्तुत गरिएका “क्रिएटिभ मास्टरपिस” डिजाइनहरूले डिजाइनरहरूको अवधारणा र सिर्जनात्मक यात्राको सारलाई सघन रूपमा अभिव्यक्त गरेका थिए । समग्रमा प्रस्तुत संग्रहहरूले नेपाली फेसनको विकसित हुँदै गएको पहिचानलाई उजागर गर्दै फेसनलाई केवल वस्त्र निर्माण नभई विचार, अनुभूति र कथाको माध्यमका रूपमा स्थापित गरेको देखियो ।

कार्यक्रमका अवसरमा एनसीएफटी फेसन क्याटलगको चौथो संस्करण पनि सार्वजनिक गरिएको थियो । उक्त क्याटलग पूर्वाञ्चल विश्वविद्यालय का रजिस्ट्रार डा. कल्याणी मिश्रा त्रिपाठी, व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठ, संस्थापक प्रिन्सिपल तुलाधर, दीपशिखा नेपाल तथा उरुषा भण्डारी लगायतले संयुक्त रूपमा विमोचन गरेका थिए ।
विद्यार्थी डिजाइनरहरूको मूल्यांकनका लागि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सम्मिलित निर्णायक मण्डलको उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई अझ व्यावसायिक र प्रतिस्पर्धात्मक बनाएको थियो ।
नमुना कलेज अफ फेशन टेक्नोलोजी अन्तर्गत सञ्चालित ब्याचलर अफ फेसन डिजाइन एन्ड म्यानेजमेन्ट (BFDM) कार्यक्रमको महत्त्वपूर्ण शैक्षिक अङ्गका रूपमा रहेको यस ग्राजुएसन शोले विद्यार्थीहरूलाई आफ्नो अनुसन्धान, सिर्जनात्मक सोच र डिजाइन नवप्रयोगलाई सार्वजनिक मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ ।



