निर्वाचनका दिन अत्यावश्यक सेवाका सवारीसाधनलाई पास आवश्यक नपर्ने : निर्वाचन आयोग


काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन अत्यावश्यक सेवामा संलग्न सवारीसाधनलाई कुनै प्रकारको सवारी पास आवश्यक नपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले अत्यावश्यक सेवा, स्वास्थ्य, सञ्चार तथा मानवीय आवश्यकतासँग सम्बन्धित सवारीसाधनको आवागमनमा सहजता सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको जनाएको हो ।

आयोगका अनुसार दमकल, एम्बुलेन्स, शववाहन तथा खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु र पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारीसाधनलाई पास लिनु नपर्ने व्यवस्था गरिएको छ । यस्तै, दूरसञ्चार, विद्युत्, खानेपानी तथा ढल मर्मतका लागि प्रयोग हुने प्राविधिक सवारीसाधन र अस्पताल सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ओसारपसार गर्ने सवारीसाधनलाई पनि निर्बाध सञ्चालन गर्न दिइने आयोगले जनाएको छ ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधनलाई पनि विमानस्थलदेखि घर वा होटेलसम्म र त्यहाँबाट विमानस्थलसम्म आवतजावत गर्न कुनै पास आवश्यक नपर्ने स्पष्ट पारिएको छ । त्यसै गरी, गर्भवती, सुत्केरी, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता तथा तिनका सहयोगीलाई ओसार्ने सवारीसाधनलाई पनि विशेष सहुलियत दिइएको आयोगले जनाएको छ ।

कूटनीतिक नियोगका ‘सीडी’ नम्बर प्लेट भएका सवारीसाधन, निर्वाचन पर्यवेक्षणमा खटिएका पर्यवेक्षकले प्रयोग गर्ने सवारीसाधन, राष्ट्रिय मानवअधिकार आयोगका अनुगमन टोलीका सवारीसाधन तथा प्रेस पास प्राप्त सञ्चारकर्मीका सवारीसाधनलाई समेत पास आवश्यक नपर्ने व्यवस्था लागू गरिएको छ । यसबाट निर्वाचनको निष्पक्ष अनुगमन, सूचना प्रवाह र कूटनीतिक आवागमनमा सहजता आउने आयोगको विश्वास छ ।

निर्वाचनका क्रममा सवारी आवागमन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निर्वाचन आयोग परिसरमा निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित एकीकृत सवारीसाधन आवागमन डेस्क स्थापना गरिएको छ । उक्त डेस्कमार्फत काठमाडौँ उपत्यकाका तीनै जिल्ला, काठमाडौँ, भक्तपुर र ललितपुरका लागि आवश्यक सवारी पास जारी गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र अत्यावश्यक सेवामैत्री बनाउन ‘सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ लागू गरिएको जानकारी दिएको छ । आयोगले अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनले सम्बन्धित सेवा बाहेक अन्य असम्बन्धित यात्रु नबोक्ने गरी सञ्चालन गर्नुपर्ने स्पष्ट निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्