काठमाडौँ । जेनजी आन्दोलनसम्बन्धी बीबीसीले तयार पारेको डकुमेन्ट्री जनकपुरधामका सार्वजनिक स्थानमा प्रदर्शन गरिरहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निर्वाचनको मुखमा संवेदनशील विषयवस्तु प्रसारण गरिएको भन्दै प्रहरीले शनिवार साँझ धनुषा प्रहरीले विकास जयसवाललाई भारतीय नम्बर प्लेटको गाडीसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश बमका अनुसार बीआर ०१ जी ०१४६७ नम्बरको भारतीय गाडीमा एलईडी सेट र प्रोजेक्टर जडान गरी जनकपुरधामको रेल्वे स्टेशन अगाडि डकुमेन्ट्री प्रदर्शन भइरहेको अवस्थामा जयसवाललाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार उनी गाडीमै बसेर उक्त डकुमेन्ट्री प्रसारण गरिरहेका थिए। प्रारम्भिक अनुसन्धानमा दुई दिनदेखि जनकपुरधामका विभिन्न चोक र सार्वजनिक स्थलमा भारतीय नम्बर प्लेट भएका गाडी प्रयोग गरी डकुमेन्ट्री देखाइएको पाइएको छ ।
प्रहरीले निर्वाचन आचारसंहिता लागू भइसकेको संवेदनशील समयमा विदेशी नम्बर प्लेटको सवारीसाधन प्रयोग गरी राजनीतिक रूपमा संवेदनशील सामग्री प्रसारण गरिएको विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ। डीएसपी बमले निर्वाचनको संघारमा यस्तो गतिविधिले मतदातामा भ्रम, वितृष्णा वा सामाजिक सद्भावमा असर पार्न सक्ने गुनासो आएपछि निगरानी बढाइएको र त्यस क्रममा जयसवाललाई नियन्त्रणमा लिइएको जानकारी दिए । “अहिले प्रसारण गराउनेको उद्देश्य र यसमा संलग्न अन्य पक्षबारे अनुसन्धान भइरहेको छ,” उनले भने ।
प्रहरीका अनुसार एलईडी सेट जडान गरिएका अन्य दुई वटा गाडीसमेत प्रयोग गरिएको आशंका गरिएको छ, तर ती गाडी हालसम्म फेला परेका छैनन् । ती सवारीसाधनको खोजी कार्य जारी रहेको र यस घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा भूमिका बारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


