मिलन के राउत – २०७० सालको दोस्रो संविधानसभाको चुनावमा तत्कालीन मोरङ क्षेत्र नम्बर ९ का लागि एमालेबाट उम्मेदवारको आंकाक्षी थिए, घनश्याम खतिवडा । जसै घनश्यामले टिकट पाए, एमालेका अर्का आकांक्षी भुपालसिं जिमी असन्तुष्ट रहे ।
उनलाई मनाउन स्थानीय नेतृत्वलाई हम्मेहम्मे परेको थियो । उम्मेदवारको मनोनयन दर्ता हुने बेलासम्म एमाले नेता कार्यकर्ता बिलखबन्दमा थिए । एउटा पक्षको समर्थन नहुँदा के गर्ने, कसो गर्ने एमाले पंक्तिको मनोदशा सतहमै प्रकट भएको थियो । अकस्मात् उर्लाबारीस्थित पार्टी कार्यालय परिसरमा उम्मेदवार खतिवडालाई गर्लम्म अँगालो हालेर भूपाल जिमीले ‘ल काला टोपीलाई मेरो समर्थन छ’ भनिदिँदा एमालेजनको उत्साहको ग्राफ बिछट्टै बढेको थियो ।
पार्टीका समकालीनहरूले ‘काला टोपी’ भनेर चित्रित गर्ने एमाले नेता घनश्याम खतिवडा जननेता मदन भण्डारीका राजनीतिक अनुयायी मात्रै होइन, लवाइ खुवाई लगायत जीवनका अनेक भावभंगी अनुसरण गर्ने व्यक्तिमा पर्छन् । कालो भादगाउँले टोपीमा सजिदा मदन जस्ता थिए, घनश्याममा त्यस्तै देखिन्छन् ।
सिलसिलेवार भाषणमा मदनकै प्रतिध्वनि आउने ! खासमा मदनको कालो टोपीको बिम्बात्मक पात्र घनश्यामलाई मदन ठानेर उत्तरी मोरङमा एमाले हुनेहरू कति छन् कति ! उनै घनश्याम खतिवडा मोरङ १ बाट यो बेला चुनावी मैदानमा छन् । खतिवडाको राजनीतिक यात्रा शिक्षण पेसाबाट सुरु भएको हो ।
२०३८ देखि २०४२ सालसम्म मोरङकै बुद्ध माध्यमिक विद्यालयमा पढाउँदा मासिक ५ सय रुपैयाँ तलब पाउने उनी जननेता मदन भण्डारी र गुरु बरालको आग्रहपछि पूर्णकालीन राजनीतिमा होमिएका थिए । जागिर छाड्न हिचकिचाएका खतिवडालाई मदन भण्डारीले ‘जागिर ठुलो कि पार्टीको निर्देशन र ?’ भनेर सोधेपछि निर्णय बदलिएको थियो ।
अन्ततः पूर्व एमाले नेता अशोक राईले राजीनामा लेखिदिएपछि खतिवडा राजनीतिमा पूर्णकालीन बने । त्यसपछि गाविस अध्यक्ष र सांसदजस्ता राजकीय भूमिकामा आफुलाई साबित गरिसकेका छन् ।
पूर्वी उत्तरी मोरङका चारवटा पालिकालाई समेटेर मोरङ क्षेत्र नम्बर १ को भूगोल निर्धारण गरिएको हो । उर्लाबारी र लेटाङ नगरपालिका तथा मिक्लाजुङ र केराबारी गाउँपालिकाको समग्र भूगोल समेटिएको क्षेत्र नम्बर १ लामो समय नेकपा एमालेको ‘अभेद्य किल्ला’का रूपमा रहँदै आएको छ ।
बहुदल पछिका तीनवटै आम चुनावमा हालको क्षेत्र नम्बर १ दुई खण्डमा विभक्त थियो । केराबारी, लेटाङसहित मिक्लाजुङका साबिक रमितेखोला र टाँडी गाविसका भूगोल क्षेत्र नम्बर ४ तथा उर्लाबारीसहित मिक्लाजुङको साबिक मधुमल्ला गाविस निर्वाचन क्षेत्र २ मा समेटिएको थियो ।
रोचक के थियो भने, ०४८, ०५१ र ०५६ का तीनवटा आम निर्वाचनमा क्षेत्र नम्बर २ मा भरतमोहन अधिकारी र क्षेत्र नम्बर ४ मा हर्कमान तामाङले शानदार मतसहित जितमा ‘ह्याट्रिक’ गरेका थिए । पूर्वोत्तर मोरङलाई एमालेको ‘बाघखण्ड’का रूपमा उभ्याएका थिए । कतिसम्म भने, ०४९ र ०५४ सालका दुवै स्थानीय चुनावमा पूर्वपश्चिम राजमार्ग समेटिएका र उत्तरी पहाडी भूभागका २२ वटा सबै गाविस एमालेले ‘क्लीनस्वीप’ गरेको अवस्था थियो ।
मुलुकमा गणतन्त्र स्थापना भएयता चार निर्वाचनमा एमालेले तीनवटा हार र एउटा जितको परिणाम हात पारेको छ । पछिल्ला चुनावी मतमा झिनो मतान्तरले पछि परे पनि गठबन्धन र चौतर्फी घेराबन्दीका बिचमा पनि एमालेको मत सुरक्षित राख्नु नै सफलता भएको एमाले प्रदेश कमिटी सदस्य योगेश बस्नेत बत्ताउँछन् ।
उनले प्रक्षेपण गरेझैँ एमालेको मत सुरक्षित राख्न सके आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडाले मोरङ १ मा पार्टीको पुरानो विरासत फर्काउने निश्चित देखिन्छ । प्रारम्भिक माहौल हेर्दा प्रतिस्पर्धामा नेपाली काँग्रेस, रास्वपालगायत दल पनि आउन सक्लान् तर जित एमालेकै हुने बस्नेतले ठोकुवा गरे ।
घनश्याम खतिवडा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष हुन् । ०७४ मा सांसद निर्वाचित भएका उनी गत ०७९ को निर्वाचनमा काँग्रेस, माओवादी एकीकृत समाजवादीका साझा उम्मेद्वारसंग चार सय मतको झिनो अन्तरले पराजित भएका थिए । खतिवडाले २०७४ मा जितेर गरेको विकासलाई आधार बनाई मत मागिरहेका छन् । उनी आफ्नो जित हुनेमा विश्वस्त छन् । देशमा बढिरहेको दण्डहीनतालाई न्यूनीकरण गर्न पनि आफूले जित्नुपर्ने उनको तर्क छ ।
मतदाताले सबैको मूल्यांकन गर्दा उत्तम उम्मेदवारको श्रेणीमा पर्ने उनको दाबी छ । ‘विगतमा विकासको काम, जनतालाई साथ लिएर गरेको छु’, उनले भने, ‘मतदाताले पनि सबै उम्मेदवारको मूल्यांकन गर्दा उत्तम स्थानमा आफूलाई पाइरहेको छु ।’ इमानदार नेतृत्वलाई यसपालि जनताले कदर गर्ने उनको भनाइ छ ।
एमालेको निर्वाचन परिचालन कमिटीका संयोजक अग्नि भट्टराईका अनुसार पार्टीका सबै संरचना र कार्यकर्तालाई एकीकृत रूपमा परिचालन गर्दै चुनावी अभियानलाई तीव्र बनाइएको छ । सुर्यध्वजाबाहक उम्मेदवार घनश्याम खतिवडालाई जिताउन पार्टीपंक्ति ऐक्यबद्ध भएर क्रियाशील बनेको उनको भनाई छ ।
उनले भने, ‘अब पार्टी सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित गरेर अघि बढ्छ । एमाले वायुपंखी घोडाको गतिमा दौडिन्छ र चुनाव जित्छ ।’ एमालेले निर्वाचन अवधिभर कमिटीमार्फत घरदैलो अभियान, सङ्गठन विस्तार र मतदाता परिचालनलाई प्राथमिकता दिने जनाएको छ ।
यस्तै, युवा संघ उर्लाबारीका अध्यक्ष नितम चौहानले यस पटकको निर्वाचनमा एमालेको पुरानो विरासत फर्काउने दाबी गरे । टोल स्तरसम्म रहेको सङ्गठन, पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिले गरेका जनप्रिय काम, उम्मेदवारको इमानदारिता र सादगीपन जित्ने आधार भएको उनी बत्ताउँछन् । ‘हाम्रो मजबुत सङ्गठन छ । टोल स्तरसम्मै कमिटी छन् ।
उम्मेदवारले पहिला गरेका काम पनि हाम्रो जितको आधार हो’ चौहानले भने, ‘हालका स्थानीय जनप्रतिनिधिले गरेका जनपक्षीय कामले पनि हामीलाई सहज छ । त्यसमा पनि हामीले कर्मठ, सादगी र इमानदार उम्मेदवार पाएका छौँ, जनताले मत नदिनुपर्ने कारण छैन ।’ यस निर्वाचन क्षेत्रमा ३७ वटा वडा पर्दछन् ।
२०७९ सालको स्थानीय निर्वाचनमा पार्टीले जितेको वडाको आधारमा विश्लेषण गर्दा एमाले अंक गणितमा बलियो देखिन्छ । यहाँ २० वटा वडा एमालेले जितेको छ । काँग्रेसले १७ र माओवादीले तीन वटा वडा जितेको छ । यहाँका चार पालिकामध्ये उर्लाबारी, लेटाङ र केराबारीमा प्रमुख उपप्रमुखसहित बहुमत वडा एमालेले जितेको छ ।
मिक्लाजुङ गाउँपालिकामा काँग्रेस र माओवादीको नेतृत्व रहेको छ । गत संसदीय चुनावमा मोरङ १ मा भार सय मतले हार बेहोरे पनि पार्टीगत समानुपातिक मततर्फ एमाले काँग्रेसभन्दा ३५ सय मतले अग्रस्थानमा छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यहाँ नेपाली काँग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका थिए ।
लिम्बूले २७ हजार २ सय ९७ मत ल्याउँदा एमालेका खतिवडाले २६ हजार ८ सय ६७ मत ल्याएका थिए । प्रदेशसभातर्फ १ को क र ख दुबैतर्फ एमाले उम्मेदवार विजयी भएका थिए । क तर्फका उमाकान्त गौतम निर्वाचित भएर अहिले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री छन् ।


