काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको खबरले कला क्षेत्रमा शोकको वातावरण छाएको छ । शनिवार बिहान स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो । अस्पताल स्रोतका अनुसार बिहान करिब ७ बजेर ४४ मिनेटमा गरिएको ईसीजी परीक्षणबाट उनको निधन भएको निष्कर्ष निकालिएको हो । चिकित्सकहरूले प्रारम्भिक रूपमा हृदयाघात (कार्डियाक अरेस्ट) को आशंका गरेका छन् ।
अस्पतालमा ल्याउँदा नै उनी अचेत अवस्थामा रहेको बताइएको छ । यद्यपि पारिवारिक सदस्यहरू त्यतिबेला अस्पताल नआइपुगेकाले औपचारिक घोषणा भने ढिला गरिएको जनाइएको छ । आफन्तहरू आएपछि मात्रै अस्पतालले आधिकारिक जानकारी सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा नेपालीसँगै भारतीय चलचित्र उद्योगमा समेत सक्रिय रहँदै आएका थिए । नेपाली चलचित्रमा ‘खलनायक’ भूमिकालाई नायक सरह लोकप्रियता दिलाउने कलाकारका रूपमा उनको पहिचान स्थापित छ । ‘राते काइँला’ पात्रका कारण उनी दर्शकमाझ विशेष चर्चित बनेका थिए । सयौँ चलचित्रमा अभिनयमार्फत उनले नेपाली सिनेमा क्षेत्रमा बलियो छाप छाडेका छन् ।
कलाकार तथा सहकर्मीहरूले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्न थालेका छन् । कलाकार केदार घिमिरे (माग्ने बुढा) ले सामाजिक सञ्जालमा श्रद्धाञ्जली अर्पण गर्दै नेपाली चलचित्र उद्योगले एक अनुभवी र समर्पित कलाकार गुमाएको उल्लेख गरेका छन् । उनको निधनको खबरले चलचित्रकर्मी, प्रशंसक र शुभेच्छुकहरू स्तब्ध भएका छन् । नेपाली कला क्षेत्रले एक स्थापित, बहुआयामिक र प्रभावशाली कलाकार गुमाएको अनुभूति गरिएको छ ।


