लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ


मोरङ । मोरङको विराटनगर महानगरपालिका-४ क्षेत्रबाट लागू औषध ब्राउन सुगर तथा विभिन्न प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ परेका छन् । माघ ६ गते लागू औषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार को ३७ प ३३६६ नम्बरको मोटरसाइकलमा शंकास्पद अवस्थामा फेला परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ निवासी ३५ वर्षीय सुदिन मन्सुरीलाई १४० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । त्यस्तै, इटहरी उपमहानगरपालिका-५ निवासी ५० वर्षीय रोहित कार्कीलाई उनकै कोठाबाट १४ ग्राम २३ मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित औषधी नाइट्राजाम ४६० ट्याब्लेट, कोरेक्स १८ बोतल तथा स्पास्मोप्रोक्सिवन ३३६ क्याप्सुलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्