विवादपछि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण रद्द


काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले अमेरिका भ्रमण नगर्ने निर्णय गरेका छन्। मन्त्रीका प्रमुख स्वकीय सचिव विनोद रिमालका अनुसार मन्त्री गुप्ताले अमेरिकाको भिसा नै नलिएको र भ्रमण नहुने निर्णय यसअघि नै भइसकेको हो ।

रिमालले जानकारी दिएअनुसार सुरुमा मन्त्री गुप्ता अमेरिका जाने योजनामा थिए । तर मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृति ढिला हुनुका साथै भिसा आवेदनसमेत नदिइएकाले भ्रमण सम्भव नभएको हो। यसबिच मन्त्रीलाई अमेरिका जानका लागि नक्कली निमन्त्रणा बनाइएको भन्दै सार्वजनिक रूपमा आलोचना हुन थालेपछि भ्रमण रद्द गर्ने निर्णय थप स्पष्ट बनेको जनाइएको छ ।

यसअघि मन्त्रिपरिषद्को पुस २१ गतेको बैठकले मन्त्री गुप्तालाई अमेरिकामा आयोजना हुने ‘Role of Youth in the Development of Nepal Post Gen Z Revolution’ शीर्षकको कार्यक्रममा सहभागी हुन अनुमति दिएको थियो । उक्त कार्यक्रम गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक समूहले आयोजना गर्न लागेको बताइएको थियो ।

कार्यक्रम विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए समूहद्वारा आयोजना हुन लागेको भनिए पनि, सतेन्द्र शाह अध्यक्ष रहेको अर्को एनआरएनए-अमेरिका समूहले मन्त्री गुप्तालाई आफूहरूले नबोलाएको स्पष्ट पार्दै विज्ञप्ति जारी गरेको थियो। त्यसपछि मन्त्रीको अमेरिका भ्रमण विषय थप विवादित बनेको थियो ।

हाल अमेरिकामा गैरआवासीय नेपाली संघका तीन फरक समूह सक्रिय छन् । तीमध्ये उप्रेती नेतृत्वको समूहले संघको युवा विभागमार्फत कार्यक्रम आयोजना गर्न लागेको दाबी गरेको थियो । तर आधिकारिकता र निमन्त्रणालाई लिएर उठेको विवादपछि मन्त्री गुप्ताको भ्रमण राजनीतिक र प्रशासनिक रूपमा आलोचनाको घेरामा परेको थियो । विवाद चुलिँदै गएपछि अन्ततः मन्त्री गुप्ताले अमेरिका भ्रमण नगर्ने निर्णय लिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्