“विदेश घुमेर अर्थतन्त्र बन्छ ?”, शिक्षामन्त्री महावीर पुनको स्पष्ट प्रश्न


काठमाडौँ । खेलकुदमन्त्री बब्लु गुप्ताको क्याबिनेटबाट स्वीकृत अमेरिका भ्रमण विवादमा परिरहेका बेला शिक्षामन्त्री महावीर पुनले विदेश भ्रमणप्रति आफ्नो स्पष्ट र फरक धारणा सार्वजनिक गरेका छन् । मन्त्री पुनले आफू मन्त्री बनेयता आएका सबै विदेश भ्रमणका निमन्त्रणालाई अस्वीकार गर्दै आएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शिक्षामन्त्री पुनले मन्त्री बनेपछि हालसम्म आएका तीन वटा विदेश भ्रमणका निमन्त्रणामा नजाने निर्णय गरेको जानकारी दिएका छन् । उनले अहिले पनि दुई वटा नयाँ निमन्त्रणा आएको उल्लेख गर्दै ती भ्रमणमा पनि सहभागी नहुने स्पष्ट पारेका छन् ।

मन्त्री पुनले इजरायल र साउदी अरबमा आयोजना हुने कार्यक्रमका लागि आएको औपचारिक निमन्त्रणा पत्रसमेत फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनले देशको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै विदेश भ्रमणले भन्दा पनि देशभित्रै बसेर काम गर्दा वास्तविक परिवर्तन सम्भव हुने धारणा व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, “लौ जा, म मन्त्री भए पछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमणमा गइनँ । अहिले पनि दुई वटा निमन्त्रणा आएछ। यसमा पनि जान्न । देशको अर्थतन्त्र नसुधारेसम्म जो सुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन, किनभने केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ?”

शिक्षामन्त्री पुनको यो अभिव्यक्ति पछिल्लो समय मन्त्रीहरूको विदेश भ्रमण खर्च र त्यसको औचित्यमाथि उठिरहेका प्रश्नहरूको सन्दर्भमा आएको हो । उनले स्पष्ट रूपमा देशको प्राथमिकता आर्थिक सुधार र स्रोत व्यवस्थापन हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्