यम बुद्ध ट्रिब्युट कार्यक्रममा क्रिमसन एजुकेसन पार्टनर : छात्रवृत्ति कोषका लागि सहयोग जुट्दै


सुन्दरहरैँचा । यम बुद्ध फाउन्डेशनको आयोजनामा यही माघ १ गते सम्पन्न हुन गइरहेको यम बुद्ध ट्रिब्युट कार्यक्रममा क्रिमसन एजुकेसन हब बेलबारी आधिकारिक शिक्षा साझेदारका रूपमा सहभागी हुने भएको छ । कार्यक्रमलाई सफल बनाउन क्रिमसन एजुकेसन हबले रु. १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने आयोजकले जनाएको छ ।

उक्त सहयोगबारे जानकारी दिँदै क्रिमसन एजुकेसन हबका सञ्चालक सन्तोष पोखरेलले स्वर्गीय यम बुद्धले नेपाली युवामाझ पुर्‍याएको साङ्गीतिक, सामाजिक र वैचारिक योगदानको सम्मानस्वरूप शिक्षा र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै कार्यक्रमलाई साथ दिएको बताए । उनले यम बुद्धको नाममा स्थापना हुन लागेको छात्रवृत्ति कोषले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन सक्ने विद्यार्थीहरूका लागि आशाको ढोका खोल्ने विश्वास व्यक्त गरे ।

यम बुद्ध ट्रिब्युट कार्यक्रमको मुख्य उद्देश्य स्वर्गीय यम बुद्धको स्मृतिमा सुकुना बहुमुखी क्याम्पसमा अध्ययनरत गरिब, असहाय तथा पढाइबाट वञ्चित विद्यार्थीहरूका लागि ‘यम बुद्ध छात्रवृत्ति कोष’ स्थापना गर्नु रहेको छ । शिक्षा र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर आयोजना हुन लागेको उक्त कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहयोग प्राप्त भइरहेको फाउन्डेसनले जनाएको छ ।

यस क्रममा सुन्दरहरैँचा नगरपालिकाका संस्थापक मेयर शिव प्रसाद ढकालले छात्रवृत्ति कोष स्थापनाका लागि रु. ५० हजार आर्थिक सहयोग प्रदान गरेका छन् । फाउन्डेसनले ढकालको उक्त योगदानप्रति धन्यवाद व्यक्त गर्दै यसले आर्थिक अभावका कारण अध्ययन निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई ठुलो प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ ।

त्यस्तै, समाजसेवी सुरेन्द्र थापाले पनि रु. ५० हजार सहयोग गरी ‘बुद्धिजीवी छात्रवृत्ति कोष’ स्थापनामा योगदान पुर्‍याएका छन् । फाउन्डेसनले थापाको सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उनको योगदानले शिक्षा पहुँचबाट वञ्चित हुन सक्ने विद्यार्थीहरूको भविष्य उज्यालो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने जनाएको छ ।

कार्यक्रममा चर्चित कलाकारहरू भिटेन, मिस्टर डि, टुकी र रैला रोकाको विशेष प्रस्तुति रहनेछ । यम बुद्ध फाउन्डेसनले यम बुद्धको स्मृतिलाई शिक्षा, सामाजिक उत्तरदायित्व र सकारात्मक सन्देशसँग जोड्दै कार्यक्रमलाई अर्थपूर्ण र दीर्घकालीन प्रभाव पार्ने अभियानका रूपमा अघि बढाइएको जनाएको छ । आयोजकले स्थानीय समुदाय, युवाहरू, विद्यार्थी तथा शुभेच्छुक सबैलाई कार्यक्रममा सहभागी भई यस अभियानलाई सफल बनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्