सुन्दरहरैँचामा यम बुद्ध श्रद्धाञ्जली कार्यक्रम हुँदै : छात्रवृत्ति कोष स्थापना गरिने


सुन्दरहरैँचा । यम बुद्ध फाउन्डेशनको आयोजनामा सुन्दरहरैँचामा स्वर्गीय र्‍यापर यम बुद्धको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम आगामी माघ १ गते सुन्दरहरैँचा नगरपालिका-१२ स्थित सुकुना बहुमुखी क्याम्पस परिसरमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

यम बुद्धको कला, विचार र सामाजिक योगदानको सम्मान स्वरूप आयोजना गर्न लागिएको कार्यक्रममा चर्चित कलाकारहरू भिटेन, मिस्टर डि, टुकी र रैला रोकाको विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा सङ्गीतमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुका साथै युवामाझ सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य लिइएको आयोजक पक्षले जनाएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य सुकुना बहुमुखी क्याम्पसमा अध्ययनरत आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई सहयोग गर्ने ‘यम बुद्ध छात्रवृत्ति कोष’ स्थापना गर्नु रहेको छ । आयोजकका अनुसार उक्त कोषमार्फत शिक्षा पहुँचबाट वञ्चित हुनसक्ने विद्यार्थीहरूलाई निरन्तर सहयोग गर्ने योजना बनाइएको छ ।

आयोजकले यम बुद्धको स्मृतिलाई शिक्षा र सामाजिक उत्तरदायित्वसँग जोड्दै कार्यक्रमलाई स्मरणीय बनाउने तयारी भइरहेको जनाउँदै स्थानीय युवा, विद्यार्थी तथा संगीतप्रेमीहरूलाई कार्यक्रममा सहभागी भई अभियानलाई सफल बनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्