बेलबारीमै करदाता सेवा केन्द्र सञ्चालन हुने : बेलबारी न.पा र आन्तरिक राजस्व कार्यालयबिच समझदारी


मोरङ । बेलबारी नगरपालिका र आन्तरिक राजस्व कार्यालय, विराटनगरबिच करदाता सेवा कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू अब बेलबारी नगरपालिकाबाटै सञ्चालन गर्ने विषयमा समझदारी भएको छ । यससम्बन्धी सम्झौतामा मिति २०८२ साल पुस १३ गते दुवै पक्षले हस्ताक्षर गरेका छन् ।

साबिकमा करदाता सेवा कार्यालय विराटचौकबाट प्रदान गरिँदै आएका सेवाहरू स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याउन आन्तरिक राजस्व कार्यालय विराटनगर र बेलबारी नगरपालिकाबिच समझदारी भएको हो । यस समझदारीसँगै बेलबारी नगरपालिका क्षेत्रभित्रका करसम्बन्धी सेवाहरू अब नगरपालिकाबाटै सहज रूपमा उपलब्ध हुने भएका छन् ।

सम्झौताअनुसार बेलबारी नगरपालिकामा करदाता सेवा केन्द्रको औपचारिक शुभारम्भ बिहीबार हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजय बहादुर रजिलवटले जानकारी दिएका छन् । उनले सम्पूर्ण नगरवासी, व्यापार व्यवसायी, पत्रकार तथा सरोकारवाला निकायलाई कार्यक्रममा उपस्थित हुन आग्रह पनि गरेका छन् ।

बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईका अनुसार यस व्यवस्थाले करदाताहरूलाई विराटनगर वा विराटचौक धाउनुपर्ने झन्झट हट्नेछ भने सेवा प्रवाह छरितो, पारदर्शी र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ । स्थानीय तहबाटै सेवा उपलब्ध हुँदा कर प्रशासनप्रति नागरिकको पहुँच बढ्ने र कर अनुपालनमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्