एम्बुलेन्समा लुकाएर गाँजा तस्करी : केराबारीमा दुई जना पक्राउ


मोरङ । मोरङको केराबारी गाउँपालिका-५ लाफा टोलमा एम्बुलेन्स प्रयोग गरी लागूऔषध गाँजा ओसारपसार गरिएको खुलासा भएको छ । पुस १३ गते राति करिब ११ बजे एम्बुलेन्समा लुकाइछिपाई गाँजा ल्याइँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीको नेतृत्वमा प्र.नि. राजीव गिरीको टोली र इलाका प्रहरी कार्यालय केराबारीसहितको संयुक्त टोलीले चेकजाँच गरेको थियो ।

प्रहरी टोलीले प्र.१-०६-००१ झ ०००४ नम्बरको एम्बुलेन्स रोकी जाँच गर्ने क्रममा चालकसहित सवार व्यक्तिहरूले प्रहरी देख्नासाथ गाडी छाडेर भाग्ने प्रयास गरेका थिए । उनीहरूलाई नियन्त्रणमा लिन प्रहरी सहायक निरीक्षक फजिन्द्र तोलाङ्गीले चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेका थिए । त्यसपछि दुई जनालाई नियन्त्रणमा लिइ एम्बुलेन्स जाँच गर्दा १६ पोका लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनकुटा जिल्लाको शहिदभूमि गाउँपालिका-६ निवासी ३५ वर्षीय निश्चल राई र सोही एम्बुलेन्समा सवार सागुरिगडी गाउँपालिका-२ निवासी २० वर्षीय खगेन्द्र लिम्बु रहेका छन् । धनकुटा जिल्लाको छिन्ताङ शहिदभूमि गाउँपालिकाबाट सञ्चालित उक्त एम्बुलेन्सलाई समेत नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्