विराटनगर । मोरङको जहदा गाउँपालिका-२ तारेगमास्थित सडकबाट ठुलो परिमाणको लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार पुस १२ गते राति करिब १०ः३० बजे नेपालबाट भारततर्फ गाँजा तस्करी हुँदै छ भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।
प्रहरीले चेकजाँच गर्ने क्रममा बोरा बोकी भारततर्फ जाँदै गरेका दुई जनाले प्रहरी देख्नासाथ बोरा फाली भाग्ने प्रयास गरेका थिए । उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिई जाँच गर्दा ३३० केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको अररिया जिल्ला चन्दामोहन वार्ड नम्बर-५ का २४ वर्षीय अबुल हसन र सोही स्थानका ३० वर्षीय सोहेल खान रहेका छन् । दुवै जनालाई गाँजासहित जिल्ला प्रहरी कार्यालय, मोरङमा राखी थप अनुसन्धान भइरहेको छ ।


