काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहबिच बृहत् राजनीतिक एकतासम्बन्धी सहमति भएको छ । आज आइतबार (पुस १३) बिहान काठमाडौँमा भएको सहमति पत्रमा रास्वपाका सभापति रवि लामिछाने र बालेन्द्र शाहले हस्ताक्षर गरेका छन् । लामो समयदेखि चल्दै आएको राजनीतिक सहकार्यको चर्चाले यससँगै औपचारिकता पाएको छ ।
सहमति अनुसार एकतापछि पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ भने चुनाव चिह्न ‘घण्टी’ र झण्डा साबिककै निलो पृष्ठभूमिमा सेतो घेराभित्र निलो घण्टी रहनेछ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने उल्लेख गरिएको छ ।
नेतृत्व संरचनामा रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ । बालेन्द्र शाहले पार्टीको नीति, नेतृत्व, संगठन र चुनाव चिह्न स्वीकार गर्दै कुनै साङ्गठनिक पदको दाबी नगरेको सहमतिमा उल्लेख छ ।
सहमति पत्रमा नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागहरू यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ । साथै गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक-सामाजिक उन्नयन गर्दै आगामी दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहित स्पष्ट मार्गचित्र कार्यान्वयन गर्ने प्रतिबद्धता पनि गरिएको छ ।
एकतापछि पार्टी संगठनलाई थप सक्षम र फराकिलो बनाउँदै युवा अभियन्ता र अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा समायोजन गरिने बताइएको छ । यस सहमतिअनुसार पार्टीसम्बन्धी आवश्यक दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ ।
सहमति पत्रमा लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य सुसंस्कृत र परिवर्तनकामी राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई समेत आह्वान गरिएको छ । जेन-जी आन्दोलनलगायत विभिन्न जनआन्दोलनबाट उठेका प्रतिनिधिहरूलाई निर्वाचनमार्फत समेट्ने विषयमा पनि दुवै पक्ष एकमत रहेको स्रोतहरूको भनाइ छ । रास्वपा र बालेनबीचको यो सहमतिलाई वैकल्पिक राजनीतिक धारको महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ ।


