ब्लड क्यान्सरसँग जुधिरहेकी बेलबारीकी रञ्जिता भट्टराईलाई जीवन बचाउन सहयोगको अपिल


बेलबारी । बेलबारी-१ निवासी रञ्जिता भट्टराई हाल ब्लड क्यान्सरको गम्भीर उपचारका लागि भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचाररत छिन् । चिकित्सकको सल्लाहअनुसार उनको बोन म्यारो ट्रान्सप्लान्ट अत्यावश्यक भइसकेको छ भने यो प्रक्रिया १३ दिनभित्र सम्पन्न गर्नुपर्ने अवस्था रहेको परिवारले जनाएको छ ।

उपचारका क्रममा हालसम्म करिब ४५ देखि ५० लाख रुपैयाँ खर्च भइसकेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले थप उपचार खर्च जुटाउन असहज भएपछि रञ्जिताले आफ्नो जीवन बचाउन सबैसमक्ष सहयोगको भावुक अपिल गरेकी छन् ।

परिवारका अनुसार समयमै बोन म्यारो ट्रान्सप्लान्ट हुन नसके रञ्जिताको जीवन जोखिममा पर्न सक्ने चिकित्सकको चेतावनी छ । यही कारण उनले देश-विदेशमा रहेका आफन्त, साथीभाइ, शुभेच्छुक, अभियन्ता तथा सहयोगी मनहरूलाई आफ्नो बैंक खातामार्फत सकेको सहयोग गर्न अनुरोध गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत गरिएको अपिलमा ‘सबैले थोरै-थोरै सहयोग गरे जीवन बचाउन सम्भव हुन्छ’ भन्ने विश्वास व्यक्त गरिएको छ । ५० हजार जनाले प्रतिव्यक्ति २० रुपैयाँ सहयोग गरे मात्र पनि ठुलो रकम जुट्न सक्ने भन्दै सन्देश सेयर गरेर सहयोग फैलाइदिन आग्रह गरिएको छ ।

यो सहयोग केवल आर्थिक सङ्कलन मात्र नभई, जीवन रक्षाको अभियान भएको परिवारले जनाएको छ । सहयोगी हातहरूले समयमै साथ दिए रञ्जिता भट्टराई पुनः स्वस्थ जीवनतर्फ फर्किन सक्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्